जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खोल्दैछौं : प्रधानमन्त्री प्रचण्ड

नौलो समाचार संवाददाता
२०७९ चैत्र २७, सोमबार मा प्रकाशित १०३५ पटक पढिएको
जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खोल्दैछौं : प्रधानमन्त्री प्रचण्ड

चैत २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ।

बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो भन्ने निष्कर्ष निकाल्दै सरकारले पुरानै स्थितिमा कित्ताकाट खुला गर्न लागेको उहाँले बताउनुभएको हो।

सोमबार पोखराबाट आएको उद्योगी व्यवसायीसँग सिंहदरबारमा भएको भेटमा उहाँले जग्गामा गएर पैसा फसेकोले तरलताको समस्या आएको र अहिले कित्ताकाट र बेचबिखन रोकिएकोले अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भए पनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई सैद्धान्तिक सहमति क्याबिनेटबाट दिने अहिलेको क्राइसिस म्यानेज गर्न कोशिस गर्ने योजना बनाएको बताउनुभयो।

सरकारले यसै वर्ष ल्याएको भू-उपयोग नियमावलीका कारण स्थानीय तहले कृषि र गैर कृषियोग्य जग्गाको वर्गीकरण गर्नुपर्छ। यसरी जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोल्नुपर्ने नियम त्यसमा छ ।

तर, प्रधानमन्त्रीले बजारमा पैसा अभावको कारण जग्गा वर्गीकरणविनै कित्ताकाट खोल्ने तयारी गरिएको जानकारी गराउनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले ब्याजदरलाई एकल अंकमा झार्ने आफ्नो प्रयास रहेको पनि बताउनुभयो।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटले मुलुकलाई नयाँ ठाउँमा लैजानुपर्छ भनेर आफूहरु लागिरहेको पनि प्रचण्डले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस