बनेपा / लागूऔषधको लत मेटाउन गरिएको सापटी तिर्न एक युवाले ८३ बर्षीय वृद्धाको हत्या गरेका छन् ।
पारिवारिक बेमेल भएर कोठमा भाडामा लिएर बनेपा –१३, भैसेपाटीमा बस्दै आएका २९ बर्षीय अभिषेक आचार्जुले धुलिखेल–९ घर भइ सोही घरमा भाडामा बस्ने ८३ बर्षीय लक्ष्मी तामाङको हत्या गरेका हुन् ।
लागूऔषधको लतमा रहेका आचार्जुले साथीसंग लिएको सापटी तिर्नको लागि पैसाको जोहो गर्न ती महिलाको सुन लुट्ने क्रममा ती वृद्धाको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार, अनुसन्धान र प्रमाणले पनि शंकामा रहेका ती युवाले हत्या गरेको स्विकारेका छन् ।
२०८० फागुन १७ गते विहान आचार्जुले ती वृद्धा सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिचेर मुख समेत थुनी सुनका मुन्द्रा लुट्ने क्रममा लक्ष्मीको मृत्यु भएको थियो । फागुन १८ गते विहानसम्म ती महिलाको चहलपहल नभएपछि कोठा खोलेर हेर्दा मृत फेला परेकी थिइन् ।
घटना पश्चात अभिषेक कोठामा आउन छोडेको, शंकास्पद गतिविधी गरेको, साथीहरुसंग बुझ्दा घटनापछि पैसा धेरै खर्च गर्ने गरेको र ऋण समेत तिरेको सूचना पाएपछि प्रहरीले उनी माथि निगरानी बढाएको थियो । चैत १३ गते उनलाई प्रहरीले धुलिखेलबाट पक्राउ गरेको हो ।
अभिषेकले बनेपा चारदोबाटोमा रहेको विवेकरत्न सुन चाँदी पसलमा धितो राखेर लिएको ३६ हजार रुपैयाँ साथीहरुको सापटी फिर्ता गरेका थिए । आर्थिक अवस्था राम्रै भएको परिवारका अभिषेक परिवारिक बेमेलपछि कोठा भाडामा लिएर बस्दै आएका थिए ।
एकै घरमा बस्ने ती वृद्धालाई अभिषेकले रातको समयमा पानी माग्ने, खाने कुरा माग्ने र नदिए धम्क्याउने गरेको छोराछोरीलाई बताएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस