प्रेस युनियनको स्थापना दिवसमा मानव कल्याण समाजको सेवा घरलाई खाद्यान सहयोग

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ १३, आईतबार मा प्रकाशित ८२६ पटक पढिएको

प्रेस युनियनको स्थापना दिवसमा मानव कल्याण समाजको सेवा घरलाई खाद्यान सहयोग

शंखुपाटीचौर /  नेपाल प्रेस युनियनको ३३ औंं स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेले धुलिखेल नगरपालिका वडा नं १२ स्थित मानव कल्याण समाज (सेवा घर)लाई खाद्यान सहयोग गरेको छ ।

शंखुपाटीचौरमा रहेको सेवा घरमा पुगेर युनियन काभ्रेले चामल, नुन, तेल, दाल, चिउरा, विस्कुट, गेडागुडी, फलफुलसहितका सामाग्री हस्तान्तरण गरेको हो ।

सहयोग सामाग्री लिएर नेपाल प्रेस युनियन काभ्रेका सदस्य समेत रहेका कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष इश्वरी ओझा, महेशराज पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, उपाध्यक्ष सुनिता सापकोटा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, सचिव शुभराज अधिकारी, सहसचिव इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज अधिकारी, सदस्यहरु रामचन्द्र अधिकारी, राजन दाहाल, पुजन धिताल, ज्योती श्रेष्ठ, रोशन पौडेल, भक्त दाहाल सेवा घर पुगेका थिए ।

उपसभापति हुमागाईले पत्रकारहरुले लेखनका साथै सामाजिक कार्य पनि गर्छन् भन्ने उदाहरण युनियनले पेश गरेको बताए ।

नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष सुनिता सापकोटाले आगामी दिन यस्तै सहयोग निरन्तरता हुने अपेक्षा गर्दै शुभकामना दिइन् ।

नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीले सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सञ्चार लगायत विभिन्न माध्यमबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मानव कल्याण समाज (सेवा घर) का अभियन्ता रोशन ढकालले त्यहाँका गतिविधी बारे जानकारी गराएका थिए । उनका अनुसार, २०७२ सालको महाभूकम्प पछि नै आश्रय दिन थालेको संस्था २०७४ सालमा विधिवत दर्ता भएको थियो । २०७७ असोजबाट काभ्रेको बाँसघारीमा भाडाको घरबाट सेवा दिन थालेको संस्थाको शंखुपाटीचौरस्थित सेवा घरमा हाल ८३ जना आश्रित छन् ।

भक्तपुरको झौखेल, काभ्रे, निजगढ, पशुपति क्षेत्रबाट हाल ४ सय ५० जनालाई सेवा दिइरहेको छ । ती मध्ये ४२ जना बालबालिका छन् । हालसम्म १७ सय जनाको उद्धार गरेको संस्थाले ९ सय जनाको परिवारमा पुनर्मिलन गराएको छ । आश्रित मध्ये ८६ जनाको मृत्यु भएको छ ।






प्रतिक्रिया दिनुहोस