पनौती / ‘समुदायमा आधारित’ भनिएका सहकारीमा पनि व्यवस्थापनको कमजोरीका कारण समस्या देखिएको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको एक्सेस ब्राण्ड प्राप्त सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा कर्मचारीले नै सदस्यको रकम अपचलन गरेको सार्वजनिक भएपछि समस्या देखिएको हो ।
सहकारीको ऋण असुली बिभागका सुवास सापकोटा, सुन्दर घिमिरे र कुशादेवी सेवा केन्द्रका प्रमुख बिकास खड्काले ४ करोड ६० लाख भन्दा बढी रकम अपचलन गरेको प्रारम्भिक तथ्य सार्वजनिक भएको थियो । सापकोटा र घिमिरेले सदस्यको रकम अपचलन गरेका थिए भने खड्काले आफन्तको नाममा ऋण निकालेर दुरुपयोग गरेका थिए । सुवासले ३ करोड ३ लाख ८४ हजार रुपैयाँ र सुन्दरले ५८ लाख रुपैयाँ अपचलन गरेको प्रारम्भिक अनुमान छ । छानबिन गर्न सहकारीले सचिव सरोज तिमल्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ ।
व्यवस्थापनको कमजोरीका कारण नाम चलेको र ठूलो सहकारीमा समस्या देखिएको एक शेयर सदस्यले बताए । ‘नाम चलेको, शेयर सदस्यको मायाले चलेको भनेको सहकारीको हालत यस्तो रहेछ, शेयर सदस्यले जम्मा गरेको रकम यसरी अपचलन हुनु सहकारीप्रति घट्दै गएको विश्वास अझै घटाउने काम हो,’ ती शेयर सदस्यले भने ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जिम्मेवार अधिकृतबाट नै अपचलन भएको भन्दै त्यसको यकिन तथ्याकं आउने बताएका छन् । सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले संस्थाकै प्रयासमा अपचलन पत्ता लागेको भन्दै असुली पनि गरिने बताएका हुन् ।
छानबिन समितिका संयोजक तिमिल्सनाले एक/दुई दिन भित्रै अपचलन भएको रकमसहितको बास्तविकता पत्ता लाग्ने र सार्वजनिक गर्ने बताए ।
अपचलनको सूचना बाहिरिएपछि सहकारीले जारी गरेको प्रेस विज्ञप्तिमा ‘एकजना कर्मचारीले आफ्ना आफन्त तथा नातेदार सदस्यहरुलाई आफू जिम्मेवारी बसी ऋण बनाई आफैंले उपयोग गरेकोमा साँवा तथा ब्याज रकम सम्पूर्ण असुल भएको छ । एकजना कर्मचारीले अपचलन गरेको रकम असुली भईसकेको साथै अर्को एकजना कर्मचारीले अपचलन गरेको रकम असुलीको क्रममा रहेको र छानविन प्रकृया जारी रहेको जानकारी गराउँदछौं ।’ भनिएको छ । अपचलनमा संलग्न कर्मचारीको नाम र रकम भने विज्ञप्तिमा उल्लेख छैन ।
सामुदायिकमा यसअघि पनि डाँकाहरुले सहकारीमा रहेको रकम चोेरेका थिए । त्यसको १२ दिनमा चोर समातिएको थियो ।
प्रतिक्रिया दिनुहोस