पाँचखाल / ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)ले पाँचखाल नगरपालिकामा सञ्चालन गरेको कार्यक्रमको सामाजिक परीक्षण गरिएको छ ।
अमेरिकन हिमालयन फाउन्डेसन र फाउण्डेसन फर र जस्ट सोसाइटी इन्टरनेशनलको सहयोगमा पाँचखाल नगरपालिकाका तीन विद्यालयका ७९ छात्राहरूलाई शिक्षाको लागि सहयोग गरिरहेको रेष्टले कार्यक्रम अन्तर्गत सञ्चालन गरेका विभिन्न योजनाहरूको सामाजिक परीक्षण गरिएको हो ।
बाह्य सहजकर्ता जीवन घिमिरे र विष्णु पराजुलीले पेश गरेको सामाजिक परिक्षण प्रतिवेदन अनुसार कार्यक्रमबाट छात्राहरूको शिक्षामा योगदान पुगेको, बेचबिखन, लैंगिक हिंसा र बालविवाह रोक्न मद्दत गरेको, विद्यालय छोड्ने दर घटेको लगायतका सकारात्मक प्रभाव परेको उल्लेख छ । सीमित स्रोत र साधनका बीच संस्थाले काभ्रे जिल्लाका विभिन्न स्थानीय तहमा छात्रा शिक्षाको लागि ठूलो सहयोग गरेको भन्दै प्रतिवेदनमा यसको दायरा र संख्या थप गर्न सुझाव दिइएको छ ।
रेष्टले काभ्रेको पाँचखाल, नमोबुद्ध, धुलिखेल र मण्डन देउपुर नगरपालिका, रोशी गाउँपालिकामा यो बर्ष कक्षा १ देखि १० सम्मका ३ सय ९० र कक्षा ११ र १२ मा अध्ययनरत १ सय १४ गरी ५ सय ४ बालिकालाई शिक्षाका लागि सहयोग गर्दै आएको छ। संस्थाले कक्षा १ देखि १० सम्म अध्ययनरत बालिकालाई बर्षभरी चाहिने स्टेशनरी, झोला, कपडा र ज्यालाबाट प्रतिव्यक्ति ८ सयका दरले सहयोग गर्छ । यसका अतिरिक्त परिक्षा, भर्ना शुल्को लागि अभिभावकलाई २ हजार २ सयका दरले सहयोग गर्ने गरिएको छ । कक्षा ८ र ९ मा अध्ययनरतलाई अतिरिक्त कक्षाको लागि जनही २ हजार , कक्षा ९ र १० मा अध्ययनरतलाई अतिरिक्त किताबको लागि ८ सय र माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई) तयारीको लागि ७ हजार र प्राविधकि धारको लागि ५ हजारका दरले सहयोग गर्ने गरेको संस्थाका वरिष्ठ फिल्ड अधिकृत उमेश नेपालले जानकारी दिए । उनका अनुसार, कक्षा ११ र १२ मा अध्यनरतको पोशाकको लागि ४ हजार ५ सय, किताबको लागि ४ हजार ५ सय देखि ५ हजार ५ सय सम्म, गाडी भाडा १ हजार ५ सय देखि ३ हजारसम्म , कोठा भाडा ३ हजार र कलेजको सम्पूर्ण शुल्क सहयोग गर्दै आएको छ ।

संस्थाका कार्यक्रम व्यवस्थापक सुरक्षा ढुंगेलका अनुसार २०४९ सालमा स्थापना भएको संस्थाले यो अवधीमा २८ हजार भन्दा बढी बालिकाको शिक्षाका लागि सहयोग गरिसकेको छ । यो बर्ष संस्थामार्फत १८ जिल्लाका ५३ स्थानीय तहका ३ सय ५३ विद्यालयका ९ हजार भन्दा बढी बालिकाको शिक्षामा सहयोग गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष कमला अधिकारीले पढाइ नहुँदा छोरी, महिलाहरू पछाडि परेको, हिंसा, शोषण भोग्ने गरेको देखेर २०४९ सालमा छात्रवृत्ति कार्यक्रमको रुपमा संस्था शुरु गरेको जानकारी दिइन् । कक्षा १२ सम्मको शिक्षामा संस्थाले सहयोग गर्दै आएको बताउँदै उनले त्यसपछि सक्षम भएर आफ्नो पढाइ र खर्च धान्न सक्ने बन्नुपर्ने तर्क गरिन् ।
पाँचखाल नगरपालिका वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर दनुवारले बालिका शिक्षाका लागि रेष्टले गरेको सहयोगले निकै राम्रो प्रभाव पारेको भन्दै अन्य अभिभावकबाट समेत सहयोग माग भएको जानकारी दिए ।
पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोइरालाले संस्थाले गरेको कामको प्रशंसा गर्दै स्थानीय सरकारले पनि यस्ता कार्यक्रममा सहकार्य गर्नुपर्ने बताए । विद्यार्थीको आवश्यकता पहिचान गरेर सोहीअनुसार सहयोग गर्न पनि उनले अन्य संस्थाहरुलाई अनुरोध गरे ।
रेष्टबाट छात्रवृत्ति पाउने बालिकाका अभिभावक हिरामणि प्याकुरेलले सरकारभन्दा ठूलो ठूलो अभिभावक पाएको भन्दै संस्थाको सहयोग बिना छोरीलाई यो स्थानमा ल्याउने सामर्थ नभएको भन्दै संस्थाप्रति कृतज्ञता व्यक्त गरे ।

पाँचखाल वडा नम्बर १० स्थित महांकाल माध्यमिक विद्यालयका अध्यक्ष बासु प्याकुरेलले आर्थिक अवस्था कमजोर भएका बालिकाको शिक्षामा सहयोग गर्दै आएको संस्थाले उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग गर्नुपर्ने बताए । सोही विद्यालयमा रेष्टको छात्रवृति पाएकी छात्रा शर्मिला तामाङ (वाइवा) हाल एमबिबिएस अध्यनरत रहेको जानकारी दिँदै विद्यार्थीलाई मिहेनती बनाउनुका साथै नियमित विद्यालय आउने बनाउन संस्थाको भूमिका रहेको तर्क गरे ।
सोही विद्यालयका प्रधानाध्यापक टिकादत्त पौडेलले रेस्टबाट सहयोग पाएको बालबालिकाहरूले माध्यमिक शिक्षा परीक्षामा पनि राम्रो नतिजा ल्याएको भन्दै विद्यार्थीहरूको संख्या थप गर्न अनुरोध गरे।
संस्थाबाट सहयोग पाएका आजाद माध्यमिक विद्यालयमा अध्ययनरत विपना विश्वकर्माले संस्थाले सहयोग नगरेको भए आफूले पढाइ लाई निरन्तरता दिन नसक्ने अवस्था रहेको सुनाइन् ।
रेष्टले काभ्रेका पाँच स्थानीय तहका १९ विद्यालयमा २०५९ साल यता ५ हजार भन्दा बढी बालिकाको शिक्षाको लागि सहयोग गरिसकेको काभ्रेका फिल्ड अधिकृत कौशल कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस