‘हिम्मतिला’ ३ छोरीले गरे बाबुको ‘किरिया’, श्रीमानको ‘दर्विलो साथ’

नौलो समाचार संवाददाता
२०८२ श्रावण २६, सोमबार मा प्रकाशित ८७८ पटक पढिएको

‘हिम्मतिला’ ३ छोरीले गरे बाबुको ‘किरिया’, श्रीमानको ‘दर्विलो साथ’
बाबु हरिप्रसादको काजकिरिया गर्दै विमला, निर्मला र राधिका सापकोटा । तस्वीर : सामाजिक सञ्जाल फेसबुक

रयाले – बाबु आमाको निधनपछि छोरा, नाति, दाजुभाइले मात्रै दागवत्ती र किरिया गर्नुपर्ने ‘पीतृसतात्मक’ सोच तोड्न ‘हिम्मतिला’ ३ छोरीले बाबुको ‘किरिया’ गरेका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १ रयालेका हरिप्रसाद सापकोटाको निधनपछि उनका ३ छोरीले बाबुको दाहसंस्कार गर्दै किरिया बसेका छन् । ९१ बर्षको उमेरमा निधन भएका हरिप्रसादका छोरीहरु विमला, निर्मला र राधिका हिन्दु संस्कार अनुसार बाबुको किरिया बसेका हन् । हरिप्रसादका जेठी छोरी सुन्तली र माइली कमला भने स्वास्थ्यको कारण किरिया बसेका छैनन् ।

छोरीहरुले दागबत्ती दिनुहुदैन र किरिया बस्नुहुदैन भन्ने बहस र बैठकलाई उनीहरुले चुनौती दिएका छन् । ‘अधिकार र न्यानको पक्षमा लड्दै’ हरिप्रसादका तीनै छोरी समाजमा सन्देश दिन लागि परेका छन् ।

 

बिमला एमाले निकट अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष र बनेपा नगरपालिका उप–प्रमुख हुन् । बुद्धिजीवी परिषद् काभ्रेका कोषाध्यक्ष निर्मला पेशाले शिक्षक हुन् भने राधिका एमाले धादिङको जिल्ला सचिव र धादिङ अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुन् ।

किरियामा बस्दै गर्दा उनीहरुलाई समाज र ‘नजिकका दाजुभाइहरु’ले असहयोग मात्रै गरेनन्, सामाजिक बहिष्कार घोषणा समेत गरे । सापकोटा परिवारका पुरोहितले पनि समाजको डरले असमर्थता जनाएपछि अहिले अर्का पुरोहितले काजकरिया गराइरहेका छन् ।

बिमलाले सामाजिक सञ्जालबाटै आक्रोशसमेत व्यक्त गरेकी छन् । आफूहरु बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरितको काम नगर्न चेतावनीसमेत दिएकी छन् ।

 

राधिकाले पनि बुबाले विभेद र अन्यायविरुद्ध सधै लड्न सिकाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

 

 

 

हिन्दु संस्कारमा श्रीमान हुँदै बाबुआमाको किरिया गरिने प्रचलन छैन् । तर, श्रीमतीको कदम उनीहरुका श्रीमान्ले पनि खुलेर प्रशंसा गरेका छन् ।एमालेकै राजनीतिमा रहेका निर्मलाका श्रीमान् नवराज भुर्तेलले पनि उनको संघर्षमा साथमा नै रहेको फेसबुक स्टाटसमा लेखेका छन् ।

 

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष रहेका राधिकाका श्रीमान् सिताराम अधिकारीले सामाजिक सञ्जालमार्फत उनीहरुको कदमको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस