ढुंखर्क / ढुंखर्कका कृषि तथा घरेलु उत्पादन ‘कोसेली’को रुपमा बजारिकरण गरिने भएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण अन्तर्गतको सिप विकास कार्यक्रमका सहभागीहरुले उत्पादन गरेका सामाग्री कोसेली घरमार्फत बजारिकरण गरिनेछ । तालिममा सहभागी महिलाले तयार गरेका साबुन, स्याम्पु, चप्पल, जुत्ता, बास तथा निंगालोबाट बन्ने सामग्री कोसेली घरमा राखिएका छन् ।
दुई वर्षदेखि बेथानचोकका ६ वटै वडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालन भएको र सहभागीले तयार गरेका सामाग्रीको बजारिकरणको लागि कोसेली घर स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन् । उनका अनुसार, सञ्चालन कार्यविधी अनुसार, कोसेली घर सञ्चालनको लागि व्यवस्थापन समिति गठन गरिएको छ ।
गाउँपालिकाका १ सय १० जना महिलाले उद्यमशीलता तालिम लिएका छन् । २ वटा महिला उद्यमी समुह गठन गरी १/१ लाखका दरले विउ पूँजी उपलब्ध गराइएको छ ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले कृषि क्षेत्र बेथानचोकमा कोसेली घरका लागि पर्याप्त सामाग्री भएकोले आगामी दिन आफ्नै भवन आवश्यक पर्ने भन्दै बजेट विनियोजनको लागि सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेलाई अनुरोध गरे । उनले कोसेली घरले स्थानीय महिलालाई आयआर्जनमा टेवा पुग्ने बताए ।
मन्त्री बादेले स्थानीय तहले जग्गा व्यवस्थापन गरे भवनको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस