काभ्रेपलाञ्चोकका स्थानीय तहका असल अभ्यासबारे अनुभव आदान–प्रदान

नौलो समाचार संवाददाता
२०८२ भाद्र १५, आईतबार मा प्रकाशित ३५५ पटक पढिएको

काभ्रेपलाञ्चोकका स्थानीय तहका असल अभ्यासबारे अनुभव आदान–प्रदान

धुलिखेल / जिल्लाका स्थानीय तहले आफूले गरेका असल अभ्यासबारे अनुभव आदान–प्रदान गरेका छन् ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा काभ्रेका स्थानीय तहले आर्थिक वर्ष २०८०/ ८१ मा गरेका असल अभ्यास र उल्लेखनीय कार्यहरूबारे अनुभव आदान–प्रदान गरेका हुन् ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले विपद् अति प्रभावित रोशी गाउँपालिकाले यो बर्ष विपद् व्यवस्थापनमा अतुलनीय, नविनतम् र सह्रानीय प्रयासहरु गरेको बताए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जलधार तथा मूलधार व्यवस्थापन र संरक्षणमा यस वर्ष राम्रो गर्न सकिएको तर्क गरे ।

धुलिखेल नगरपालिकाको नीति योजना तथा अनुगमन शाखा प्रमुख पूजा काफ्लेले स्वस्थ सहर घोषणा भएको धुलिखेलले स्थानीय स्तरमा स्वास्थ्य संस्थाहरूको संख्या वृद्धिका साथै विद्युतीय स्वास्थ्य विवरण अद्यावधिक गरेको बताए ।

पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले विषादीरहित कृषि अभियानलाई जोड दिएको बताए ।

बनेपा नगरपालिकाका जनसम्पर्क तथा प्रशासकीय अधिकृत यादव खनालले प्रत्येक शुक्रबार नगरपालिकाले सञ्चालन गरेको कृषि हाट बजार लोकप्रिय बन्दै गएको बताए ।

मण्डनदेउपुर नगरपालिकाका लेखा अधिकृत पुष्पराज बजगाईंले नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेर कृषि उपज संकलन गरी नगरकोटमा सञ्चालन हुने शुक्रबारे हाट बजारमा बिक्री वितरण गर्नाले कृषकहरू लाभान्वित भइरहेको तर्क गरे ।

महाभारत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले लगातार दुई वर्ष शून्य बेरुजू कायम गर्न सफल गाउँपालिकाले विद्युतीय भुक्तानी लगायत विषयगत सुशासनमा जोड दिएको बताए ।

बेथान्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गाउँपालिकाले व्यवसायिक कृषकलाई ५ प्रतिशत सहुलियत ब्याजदर अनुदान उपलब्ध गराएको र नगरपालिका गाउँपालिकाले ५० लाख लगानी गर्दा गाउँपालिकामा १० करोडको लगानी भित्रने वातावरण सिर्जना भएको तर्क गरे ।

भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले गाउँपालिकाको सक्रियतामा हालै ३ सय ७८ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको भन्दै गाउँपालिकालाई डडेलो मुक्त बनाउन विभिन्न कार्यक्रम गरिएको बताए ।

खानीखोला गाउँपालिकाका मित्रप्रसाद भण्डारीले जिल्लामा विकट मानिने खानीखोला गाउँपालिकाले घरदैलोमा नै स्वास्थ्य परीक्षण, गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै कफी उत्पादनमा अनुदान दिएर स्थानीयको आयआर्जन वृद्धि गरिएको बताए ।

तेमाल गाउँपालिकाका प्रशासन शाखा प्रमुख उपेन्द्र तिमल्सिनाले अशक्त जेष्ठ नागरिकहरूलाई घरदैलोमा नै सेवा दिइरहेको बताउँदै नसर्ने रोगहरूको पहिचानमा जोड दिएको बताए ।

चौरीदेउराली गाउँपालिकाका सूचना प्रविधि अधिकृत विष्णु चौलागाईंले एक वडा एक कृषि पकेट क्षेत्र निर्माणमा जोड दिएको बताए ।

स्थानीय तहहरूले एकअर्काका अनुभव र अभ्यासबाट सिकाई गरुन् भनेर कार्यक्रम गरिएको जिल्ला समन्वय अधिकारी शिवप्रसाद होमेगाईले जानकारी दिए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै विकास र समृद्धि सम्भव भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोेर्जेमान जिम्बा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनालगायतले यस प्रकारका कार्यक्रमहरू स्थानीय सरकारका कार्यसम्पादन प्रभावकारी बनाउन फलदायी हुने तर्क गरेका थिए ।






प्रतिक्रिया दिनुहोस