बनेपा / अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा बनेपामा बहिरा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
काभ्रे बहिरा विकास संघको २८ औँ वार्षिक साधारण सभा तथा १४औं अधिवेशन सहितको कार्यक्रममा उनीहरूलाई दोसल्ला र खानेकुरासहित सम्मान गरिएको हो । पाँचखाल नगरपालिका उपप्रमुख सूर्यमाया दनुवार, गैरसरकारी संस्था महासंघ नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष गंगा दोङ लगायतले उनीहरूलाई सम्मान गरेका थिए ।
हालै आयोजित बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरियो । प्रथम हुने काठमाडौँका सागर केसी, दोस्रो काभ्रेका वीरबहादुर जिम्बा र तेस्रो हुने ललितपुरका केशव रोक्का र काठमाडौँका प्रज्वल बस्नेतलाई पुरस्कृत गरियो ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख सुर्यमाया दनुवारले स्थानीय तहका साथै सबै सरकारी निकायहरूमा दोभाषे नहुँदा बहिराले समस्या खेपिरहेको स्वीकार्दै दोभाषे व्यवस्थापन गर्न सबै पालिकाहरूले पहल गर्नुपर्ने बताइन् । बहिराहरूको सञ्चारमा पहुँच बनाउन बहिरा विकास संघले चालेको अभियान सफल हुने विश्वास व्यक्त गर्दै उनले स्थानीय तहको साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।
गैरसरकारी संस्था महासंघ नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष गंगा दोङले काभ्रेका धेरैवटा स्थानीय तहमा दोभाषेको व्यवस्थापन गर्न पहल गर्नुपर्ने र यसमा महासंघले साथ दिने बताइन् । बनेपा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भगवती तामाङले बहिरा व्यक्तिहरूसँग सञ्चार गर्नको लागि पनि सांकेतिक भाषा सबैले सिक्नुपर्ने बताइन् ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका सचिव नगेन्द्र अधिकारीले बहिरा लगायत अपागंता क्षेत्रका सवाल उठान गर्न काभ्रेली सञ्चारमाध्यमहरू थप जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । काभ्रे बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं अपागंताको क्षेत्रमा कार्यरत अधिकारकर्मी कृष्णप्यारी नकर्मीले बहिराहरूको समस्या धेरै भएपनि स्थानीय तहले पर्याप्त मात्रामा बुझ्न नसकेको र स्रोतको सधैं अभाव रहेको बताइन् । काभ्रे बहिरा विकास संघका पूर्व अध्यक्ष वीरबहादुर बोगटीले बहिराहरूको आफ्नै भाषा र अभिव्यक्तिका माध्यम रहेकाले उनीहरूमा सञ्चारको पहुँच बढाउनुपर्ने बताए ।

काभ्रे बहिरा विकास संघका अध्यक्ष शर्मिला मानन्धरले बहिराहरूलाई भाषाको महत्वबारे जानकारी दिन विभिन्न कार्यक्रमहरू गर्दै आएको बताइन् । बहिराहरूले अनगिन्ती समस्या भोगिरहेको भन्दै उनले हालसम्म पनि दोभाषेको व्यवस्था हुन नसक्नु दुखद रहेको बताइन् । भाषाकै समस्याका कारण बहिरा महिलाहरूले घरेलु हिंसा र अन्य हिंसा सहन बाध्य भएको भन्दै उनले सञ्चारमा पहुँच बढाउन वकालत गरिरहे पनि सुनवाई नभएको गुनासो गरिन् ।
काभ्रे बहिरा विकास संघका महासचिव धिरज अधिकारीले आर्थिक वर्ष २०८१/८२ मा संघले वृत्ति साक्षरता, क्यान्सर सम्बन्धी सचेतना, सिलाई कटाई, श्रृंगार सम्बन्धी तालिमका साथै सहायक सामग्री वितरण लगायतका कार्य गरेको बताए । कोषाध्यक्ष दिनेश बादे श्रेष्ठले जिल्लामा बहिराहरूको संख्या बढिरहेको भन्दै स्थानीय तहहरूलाई कार्यक्रम र बजेट विनियोजन गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस