चौकीडाँडा / गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बी.पी. राजमार्गका विभिन्न खण्डमा गरिएको डाइभर्सन सकाएर शनिवारसम्म यातायात सञ्चालन गर्ने गरी तयारी थालिएको छ । काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ स्थानमा डाइर्भसन गरिदैछ ।
सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले शनिवार विहानबाट यातायात सञ्चालन गर्ने तयारीका साथ कामलाई तदारुकता दिएको बताए । उनका अनुसार, सडक विभाग र निर्माण कम्पनीका उपकरण र जनशक्तिले रात बिहान नै काम गरिरेहका छन् । उनका अनसार, काभ्रे खण्डमा १२ वटा स्काभेटर, ४ वडा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरेर डाइभर्सन बनाउने काम भइरहेको छ । केही उपकरणमा बिग्रेका कारण समस्या भएको छ ।
काभ्रे खण्डको चौकीडाँडा, कटुञ्जेको चारसयबेसी, डालावेशी र कालढुंगा (भ्याकुरेखोला)मा डाइभर्सन बनाउने काम भइरहेको छ । रोशी गाउँपालिका वडा नं ७ घुमाउनेमा डाइभर्सन बनिसकेको छ ।
काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ तथा सिन्धुली जिल्लामा पर्ने बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थान गरेर १९ स्थानमा रोशीको बाढीले डाइभर्सन बगाएको छ । दाप्चा खोलाले एक स्थानमा क्षति पुर्याएको छ । रोशी खोलाले चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी, पिप्लेमा चार स्थानमा तथा माम्तीमा दुई स्थानमा डाइभर्सन बगाएको छ । त्यस्तै बर्खेखोलादेखि नेपालथोकसम्म तीन स्थानमा डाइभर्सन बगाएको छ । गत असोजमा बगेर बनाइएको डाइभर्सन यो पटक सबै बगाएको छ ।
प्रतिक्रिया दिनुहोस