हरेक आन्दोलनमा नीजि क्षेत्र नै निशानामा : अध्यक्ष ढकाल

नौलो समाचार संवाददाता
२०८२ कार्तिक २३, आईतबार मा प्रकाशित ३०४ पटक पढिएको

हरेक आन्दोलनमा नीजि क्षेत्र नै निशानामा : अध्यक्ष ढकाल

बनेपा / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हरेक आन्दोलनमा व्यवसायहरु निशानामा पर्ने गरेको तर्क गरेका छन् ।

काभ्रे उद्योग वाणिज्य संघको ४३ औं साधारण सभा तथा ५९ औं स्थापना दिवसको अवसरमा बनेपामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले जेन्जी आन्दोलनको उद्देश्य पनि तोडफोड र आगजनी नभएपनि कयन उद्योग, व्यवसाय र नीजि सम्पति तोडफोड र आगजनी गरिएको भन्दै चिन्ता व्यक्त गरे । उनले महासंघले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर नीजि क्षेत्रको मनोबल उच्च बनाउन आग्रह गरेको बताउँदै हरेक आन्दोलनमा नीजि क्षेत्रलाई आक्रमण नहुने र रक्षा गर्ने गरी संकल्प प्रस्ताव पारित गराउने प्रतिवद्धता व्यक्त गरेको बताए ।

विद्युतको ट्रंक र डेडिकेटेड लाइनको भुक्तानी गतिरोध समाधान भएको दाबी गर्दै उनले आफू नेतृत्वमा आएपछि उच्चस्तरीय आर्थिक सुधार आयोग मार्फत विभिन्न नीतिगत सुधार हुने क्रममा रहेको बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नगर/ जिल्लातर्फका उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य लगायतले उद्योग र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बने मात्रै मुलुक समृद्ध हुन सक्ने भन्दै उद्योग, व्यवसायलाई राज्यले सुरक्षा प्रदान गर्न सक्नुपर्ने तर्क गरेका थिए ।

काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले तातोपानी नाका सञ्चालन हुन नसक्दा काभ्रेपलाञ्चोक र आसपासका जिल्लाको व्यवसाय फस्टाउन नसकेको तर्क गर्दै नाका खुलाउन पहलका साथै सो नाकाबाट आयातित वस्तु र विपद्का सामाग्री गोदामघर (वायर हाउस) निर्माग गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उद्योगी, व्यवसायीहरुलाई उत्प्रेरणा भन्दा नियमन र नियन्त्रणका लागि कानूनीय व्यवस्था धेरै भएको तर्क गर्र्दै उनले औद्योगिक मनोबल उकास्न उद्यमशीलतामैत्री कानूनी व्यवस्था गर्न जोड दिए ।

प्रतिक्रिया दिनुहोस