भिमखोरीको ६३ परिवारलाई ‘एक घर,एक धारा’

३ सय ७२ जना लाभान्वित
नौलो समाचार संवाददाता
२०८२ कार्तिक २४, सोमबार मा प्रकाशित ३८१ पटक पढिएको

भिमखोरीको ६३ परिवारलाई ‘एक घर,एक धारा’

भिमखोरी / भिमखोरीका ६३ परिवारमा ‘एक घर,एक धारा’ पुर्याइएको छ । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोनामार्फत ६३ परिवारका ३ सय ७२ जना लाभान्वित भएका छन् ।

प्रदेश सरकारको ८४ लाख ६१ हजार २ सय ५९ रुपैयाँ र जनश्रमदान बापत ५ लाख ६२ हजार ६ सय ६२ गरी ९० लाख २३ हजार ९ सय २१ लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजन प्रमुख सृष्टि ख्वालपालले जानकारी दिइन् । ५ हजार ६ सय ५० मिटर टाढा रहेको मुहानबाट पानी ल्याएर प्रत्येक घरमा वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीध्वज लामा जानकारी दिए ।

सोमबार बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले संयुक्त रूपमा खानेपानी आयोजना उद्घाटन गरे । मन्त्री तामाङले तीन तहको सरकारले एकआपसमा सहकार्य र समन्वय गरेर बिकास निर्माणको काम गर्नुपर्ने भन्दै आम नागरिक पनि जिम्मेवार भएर विकास निर्माणमा लागे मात्र दिगो बिकास हुने तर्क गरे । एक बर्षभित्रै योजनाहरू सम्पन्न गर्न मन्त्री तामाङले अनुरोध गरे ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढी र पहिरो जस्ता विपद्बाट बिस्तारै उठ्दै गरेको रोशीमा स्थानीयको जनजीविकामा प्रत्यक्ष जोडिने योजनाहरूलाई प्रथमिकता दिएको बताए । स्थानीय स्रोत र साधनको उपयोग गर्दै गाउँपालिका अगाडि बढेको तर्क गर्दै उनले ाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर जेष्ट नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य विमा, जेष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क स्वास्थ्य सेवा दिएकोे जानकारी दिए । स्रोतको हिसाबले स्थानीय सरकारले ठूलो आयोजनाहरू सञ्चालन गर्न नसकेको तर्क गर्दै उनले प्रदेश र संघीय सरकारसंग समन्वय गरेर अगाडि बढ्ने र जनचासोको सानो तर महत्वपूर्ण योजनाहरू स्थानीय सरकारले अघि बढाएको बताए ।

कार्यक्रममा रोशी गाउँपालिका वडा नं ११ का अध्यक्ष लालकुमार पाख्रीन, वडा नं १० का पूर्व अध्यक्ष दुधराज तामाङ, समाजसेवी शंखबुद्ध लामा, वडा नं ११ का पूर्व अध्यक्ष मिलन मिप्चन लामालगायतले खानेपानी आयोजना सम्पन्न भएसंगै स्थानीयले खानेपानीको समस्याबाट मुक्ति पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपभोक्ता समितिका सचिव लाक्पासाङ लामाले आयोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस