गाउँको डेरीबाट बार्षिक २६ करोड बराबरको कारोबार

१५ प्रतिशत लाभाशं बापत ३६ लाख ९७ हजार ५ सय रुपैयाँ वितरणv
नौलो समाचार संवाददाता
२०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित १३० पटक पढिएको

गाउँको डेरीबाट बार्षिक २६ करोड बराबरको कारोबार

च्याम्राङवेशी /  काभ्रेपलाञ्चोक जिल्लामा दुर्गम भनिएको च्याम्राङवेशीमा सञ्चालित डेरी उद्योगले बार्षिक २६ करोड बराबरको कारोबार गरेको छ ।

बेथानचोक गाउँपालिका वडा नं १, च्याम्राङवेशीमा रहेको मदानी डेरी प्रा.लि.ले २०८१/२०८२ को अन्त्यसम्ममा २५ करोड ९९ लाख ५५ हजार ४४ रुपैयाका दुध र दुग्धजन्य पदार्थ विक्री गरेको हो । संस्थाले यो बर्ष १५ प्रतिशत लाभाशं बापत ३६ लाख ९७ हजार ५ सय रुपैयाँ वितरण गरेको छ ।

प्रा. लि.का अध्यक्ष माधव दाहालले तेस्रो बार्षिक साधारण सभा प्रस्तुत गरेको प्रतिवेदन अनुसार, सो बर्ष २१ लाख ५० हजार आयकर नै बुझाएको छ । ३८ जनालाई प्रत्यक्ष रोजगारी दिएको उद्योगले काभ्रेपलाञ्चोक जिल्लाको बेथाचोक, खानीखोला गाउँपालिका र ललितपुरको महाकांल र बागमती गाउँपालिकाका ३८ संकलन केन्द्रबाट दुध संकलन गर्छ । आगामी ५ बर्षमा ४० हजार लिटर दुध दैनिक संकलन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

७ सय ५० लिटर दैनिक दुध संकलनबाट ३ बर्ष अघि शुरु भएको उद्योगमा अहिले दैनिक ८ हजार लिटर दुध संकलन हुन्छ । दुधका अलावा उद्योद्यले घ्यु, खुवा, पनिर, नौनी, क्रिम चिज, मोजरेला चिज र कञ्चन चिज उत्पादन गरी विक्री गरिरहेको छ ।

बिमा गरेका पशुको मृत्यु भएमा उद्योगले प्रति भैसी ५० हजार र प्रति गाई ३० हजार रुपैयाँ राहत स्वरुप दिने गरेको छ । आर्थिक बर्ष २०८०/२०८१ मा मरेका १७ पशुहरु बापत राहत कोषमार्फत ६ लाख ५० हजार भुक्तानी गरिएको छ ।

कृषि र पशुपालनमा रहेका स्थानीय स्थानीय कृषक बजार र यातायातको असुविधाको कारण पलायन हुने अवस्थामा रहेकोमा गाउँमा मदानी डेरी उद्योग स्थापना भएपछि गाउँमा नै आयआर्जन सम्भव भएको र बसाइँसराइँ समेत रोकिएको महाकांलका कृषक रमण बञ्जाराले बताए ।

साधारण सभामा बर्षभरीमा धेरै दुध विक्री गर्ने ७ जना कृषकलाई नगद र ३८ जनालाई बाल्टिन प्रदान गरेको छ । यहाँका उत्पादन खरिद गर्ने होटल, रिसोर्ट लगायतलाई सम्मान गरिएको थियो । पशु क्षति भएका १२ जना कृषकलाई नगद ४ लाख २५ हजार वितरण गरिएको छ ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले मदानी डेरी स्थापना भएपछि यहाँका कृषकहरु पलयान हुन रोकिएको र बसाइँसराइँ पनि कम भएको तर्क गर्दै उद्योगले आम्दानी, अवसर र रोजगारी सृजना गरेको बताए ।

महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले उद्योगले स्थानीय कृषकहरुको हितको लागि काम गरेको भन्दै अन्य क्षेत्रमा पनि विस्तार हुने विश्वास व्यक्त गरे ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले स्थानीय तह समृद्ध हुन स्थानीय स्तरमा नै रोजगारी र आम्दानीको श्रोत हुनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, बेथानचोक गाउँपालिका वडा नम्वर १ का अध्यक्ष मधुसुदन तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्वअध्यक्ष मोतीराम तिमल्सिना, कृषि पत्रकार समाजका अध्यक्ष किरण आचार्य, लेखापरिक्षक रविन श्रेष्ठ, क्याटरिङ तथा पार्टी प्यालेस संघ काभ्रेका अध्यक्ष शिवप्रसाद तिमल्सिना, होटल व्यवसायी एवं हाईल्याण्ड रिसोर्टका रामसुन्दर बंखे, क्लव हिमालयका चन्द्र श्रेष्ठ, होटल रत्नागिरीका गोपाल नेपाल, कृषक रमण बञ्जारा लगायतले मदानी डेरीले सो क्षेत्रको विकासमा पुर्याएको योगदानबारे चर्चा गरे ।

डेरीका संचालक सदस्य रामहरी बजगाईले काभ्रेपलाञ्चोकसहित उपत्यका र बुटवल लगायत देशका प्रमुख शहरमा मदानी डेरीका उत्पादन पुगेको तर्क गर्दै कृषकलाई मिल्क होलिडे नगरिएको र समयमा नै भुक्तानी गरिएको बताए ।

सञ्चालक सदस्य राजाराम लुइँटेलले एउटा कोठाबाट शुरु भएको साधारणसभा तेस्रो बर्ष सम्म आइपुग्दा भव्य भएको भन्दै यो अवस्थासम्म पुर्याउन सहयोग गर्ने सबैलाई आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस