रोशीमा फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु

नौलो समाचार संवाददाता
२०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित १४८ पटक पढिएको

रोशीमा फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु

कटुञ्जेबेशी / शुक्रबारबाट रोशी गाउँपालिका वडा नं ७ स्थित रोशी माध्यमिक विद्यालयमा फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ ।

विश्व स्वतन्त्र क्योकुशिन संघको आयोजना र रोशी गाउँपालिकाको सहयोगमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको हो।

शुक्रबार र शनिबार चल्ने प्रतियोगितामा पुरुषतर्फ ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तौल समूह र महिलातर्फ ३५, ४५, ५५ र ५५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुष दुवैतर्फ काता समेत गरी १२ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एंव ब्रान्च चिफ दिलदोर्जे लामाले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा ७ वटै प्रदेश र सशस्त्र प्रहरी बलको विभागीय टोलीबाट गरी करिव १ सय ५० खेलाडी सहभागी छन् ।

४५ केजी माथिको तौल समूहमा प्रथम, दोस्रो र तेस्रो हुने दुई जनाले क्रमशः  नगद ५ हजार, २ हजार ५ सय र १/१ हजारसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिता उद्घाटन गर्दै रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले खेल क्षेत्रबाट उदाएका व्यक्ति समाजमा प्रतिष्ठित रहेको भन्दै खेलबाट रोशीलाई चिनाउन खेलाडीलाई अनुरोध गरे । गत दुई वर्ष बाढी र पहिरोको जोखिम भोगेको रोशीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न नसकेको भन्दै उनले यसवर्ष निरन्तरता दिने तयारी भएको बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष  मीमबहादुर वाईवाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताए । प्रतिस्पर्धाबाट उत्कृष्ट हुन खेलाडीहरुलाई शूभकामना व्यक्त गर्दै उनले खेल क्षेत्रमा भविष्य रहेकाले निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा रोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण सिग्देल, सिटिजन लाईफ इन्सयोरेन्स कम्पनीका एजेन्सी मेनेजर अशोक बुद्ध लामा, विश्व स्वतन्त्र क्योकुशिन संघ का उपाध्यक्ष जगतबहादुर थिङ, कुमार मोक्तान लगायतले कराँते र खेल क्षेत्रबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस