इन्डोस्कोपिक न्युरो सर्जरी सिक्न भारत र चीनका शल्यचिकित्सक न्युरो अस्पताल बाँसबारीमा

नौलो समाचार संवाददाता
२०८२ मंसिर ७, आईतबार मा प्रकाशित १३० पटक पढिएको

इन्डोस्कोपिक न्युरो  सर्जरी सिक्न भारत र चीनका शल्यचिकित्सक न्युरो अस्पताल बाँसबारीमा

काठमाडौं / भारत र चीनका वरिष्ठ शल्यचिकित्सकहरु इन्डोस्कोपिक न्युरो सर्जरीबारे सिक्न उपेन्द्र देवकोटा मेमोरियल नेशनल इंष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइंड साईन्सेस् आएका छन् ।

अन्तराष्ट्रिय युविइ (युनिल्याटरल बाइपोर्टल इन्डोस्कोपिक) सोसाइटीले ट्रेनिङ सेन्टर फर एक्सिलेन्सको मान्यता दिएको उपेन्द्र देवकोटा मेमोरियल नेशनल इंष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइंड साईन्सेस् तथा उपेन्द्र देवकोटा फाउण्डेशनको सहकार्यमा सञ्चालित पाचौँ सस्करणको तालिममा सहभागी हुन भारतका चार जना वरिष्ठ शल्यचिकित्सक र चीनको द फोर्थ अफिलिएटेड हस्पिटल अफ झेज्याङ युनिभर्सिटी स्कुल अफ मेडिसनका शल्यचिकित्सकहरु नेपाल आएका हन् । तालिम केन्द्रमा सञ्चालन भएको मिनिमल्ली इन्भेसिभ एण्ड इन्डोस्कोपिक कोर्ष अन न्युरोसर्जरीमा उनीहरु सहभागी भएका थिए ।

युविइले सन् २०२५ देखि उपेन्द्र देवकोटा मेमोरियल नेशनल इंष्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाइंड साईन्सेस्लाई ट्रेनिङ सेन्टर फर एक्सिलेन्सको मान्यता दिएको थियो । फाउण्डेशनले स्नायु विज्ञानको प्रवर्धन र विकासका लागि आवश्यक शिक्षा एवं तालिम, शोधलगायतका कार्य गर्ने, स्नायु रोगहरुका बारेमा जनचेतना जगाउने एवं नीतिगत वकालत गर्ने, स्नायु पुनस्थापना केन्द्रको स्थापना, आर्थिक रुपले विपन्न स्नायुसम्बन्धी बिरामीको औषधि, उपचारमा टेवा दिँदै आएको छ ।

नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका ‘पिता’ प्रा.डा. उपेन्द्र देवकोटाको स्नायु विज्ञान विधाप्रतिको निष्ठा, त्यसको विकास प्रतिको प्रतिबद्धता तथा देश प्रतिको समर्पणका रुपमा १९ बर्षअघि स्थापित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेजले स्नायु शल्यचिकित्सा (न्युरो सर्जरी) र स्नायु चिकित्सा (न्युरोलोजी), न्युरो इन्टरभेन्सनका साथै स्नायु सम्बद्ध अरु सेवाहरु न्युरो–एनेस्थेसिया, न्युरो–रेडियोलोजी, न्युरो–प्याथोलोजी, न्युरो–साइक्याट्री एंव मनोरोग, न्युरो–अटोलोजी, फिजियोथेरापी र पेन क्लिनिकजस्ता सबै विशिष्ट संवेदनशील सेवा सुविधाहरु एकैसाथ चौबिसै घण्टा एकै छानामुनि उपलब्ध गराउँदै आएको छ ।

मस्तिष्क, मेरुदण्ड, स्नायु र मांशपेशीजन्य रोगहरुको उपचारमा समर्पित अस्पतालले नेपालमा नै पहिलोपटक केही आधुनिक प्रविधीका उपकरणहरु समेत भित्राएको छ । अस्पतालले हालै ओ–आर्म मेसिन, स्टेल्थ–८ को न्युरो नेभिगेसन सिस्टम, केनोभो – ९०० को रोबोटिक माइक्रोस्कोप, इन्ट्रा अपरेटिभ न्युरो मनिटरिङ्ग, १२८ च्यानल इइजी मेसिनका साथै रेडियो फिक्वन्सी मेसिन भित्राएको हो ।

अस्पतालका कार्यकारी अध्यक्ष मधु दीक्षित देवकोटाले स्नायु विज्ञानमा निरन्तर विकसित प्राविधिक प्रगति अनुरुप स्नायु शल्यक्रियालाई सुरक्षित, न्यून जोखिम, सहज र विश्वस्तरीय बनाउन अस्पतालले विभिन्न समयमा प्रविधी र उपकरणहरु भित्राउदै आएको र अस्पतालाई अन्तराष्ट्रिय श्रोत केन्द्रको रुपमा विकास गरिदै लगेको बताइन् । स्थापनाकालदेखि नै ‘आर्थिक अभावका कारण कुनै पनि सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस्’ उद्देश्यलाई आत्मसात गर्दै आएको अस्पतालले सेवा सर्वसुलभ र जनमुखी बनाउने प्रतिबद्धता पुरा गर्दै आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस