नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरु

नौलो समाचार संवाददाता
२०८२ मंसिर ९, मंगलबार मा प्रकाशित १४९ पटक पढिएको

नमोबुद्धमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरु

भकुण्डेवेशी / नमोबुद्व नगरपालिकामा यो बर्ष लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरुवात गरिएको छ ।

प्रत्येक बर्ष नोभेम्वर २५ तारिख देखि शुरु हुने अभियान मंगलबार नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमविच शुरुवात गरिएको हो ।

नगर प्रमुख कुनसाङ लामाको सभाअध्यक्षतामा भएको औपचारिक कार्यक्रम प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपालकुमार अधिकारीले उद्धघाटन गरेका थिए ।

१६ दिन सम्म चल्ने अभियानमा सबै वडामा ५० जना महिला, पुरुषको सहभागितामा लैंगिक हिंसा विरूद्ध सचेतना र परामर्श सञ्चालन गरिने महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारा सुनुवारले जानकारी दिइन् । उनका अनुसार, अभियान अन्तर्गत मंसिर १० गते वडा नं ३, ११ गते वडा नं ४, १२ गते वडा नं ५, १४ गते वडा नं ८, १५ गते वडा नं ७, १६ गते वडा नं १०, १९ गते वडा नं ११, २१ गते वडा नं २, २२ गते वडा नं ६, २३ गते वडा नं १ र मसिंर २४ गते वडा नं ९ सचेतना र अभिमुखिकरणको समापन गरिनेछ ।

मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सहभागीहरुलाई लैंगिक हिंसा, मानवअधिकार, महिला अधिकारका विभिन्न सवाल, कानूनी पाटो र काभ्रे र नमोबुद्ध नगरपालिकाको अवस्था बारेमा अभिमुखिकरण गरेका थिए ।

उद्धघाटन कार्यक्रममा प्रजिअ अधिकारीले समाजमा हुने हिंसाका स्वरुप फेरिएको भन्दै टोल–टोलमा जागरण जगाउन आवश्यक भएको बताए । महिलालाई मात्रै अधिकार र लैंगिक हिंसाका बारेमा सचेतना गरेर पर्याप्त नहुने भन्दै उनले पुरुषलाई पनि संगसंगै सचेत गराउनुपर्ने बताए ।

नगर प्रमुख कुनसाङ लामाले अभिमुखिकरणमा सिकेका कुरा मध्ये ५ प्रतिशतमात्रै व्यवहारमा लागू गरियो भने हिंसा कम हुने तर्क गरे । लैंगिक हिंसा विरुद्ध सधै आवाज उठाउनुपर्ने भन्दै १६ दिने अभियान मात्रै पर्याप्त नहुने बताए । नगर उप–प्रमख रत्नबहादुर लामाले लैंगिक हिंसा रोकथामको लागि नगरपालिकाले निरन्तर कार्यक्रम गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कोमल शाहले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सके लैंगिक हिंसा केही कम हुने विश्वास व्यक्त गरे ।

नमोबुद्ध नगरपालिका वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्यायले विगतमा पनि जनचेतना जगाइएको भन्दै लैंगिक हिंसा कम गर्न यसलाई निरन्तरता दिनुपर्ने बताए । वडा नं ७ का महिला सदस्य शर्मिला खनालले पहुँचका आधारमा हिंसा हुने गरेको तर्क गर्दै त्यो तोडिनुपर्ने बताए । नमोबुद्ध महिला सहकारी सञ्जालका अध्यक्ष राधिका तिमल्सिना श्रेष्ठले लुकाइका र दबाइएका विगतमा लैंगिक हिंसाका घटना कम जस्तो देखिएपनि अहिले बढेको नभइ सार्वजनिक हुन थालेको तर्क गरिन् ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका सचिव नगेन्द्र अधिकारीले लैंगिक हिंसा रोक्न व्यक्ति आफै लाग्नुपर्ने भन्दै ‘हिंसा गर्दिन र हिंसा सहदिन’ भन्ने अठोट गर्नुपर्ने बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलभक्त जयनाले कार्यपत्र र अभिमुखिकरणबाट प्राप्त मार्गनिर्देशन अनुशरण गर्नुपर्ने बताए ।

प्रशासकीय अधिकृत अनिता अधिकारीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानबारे चर्चा गरिन् ।

सोही कार्यक्रममा समुदाय प्रहरी साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक इश्वर कार्कीले लैंगिक हिंसा कारण, निवारण, जिल्लाको तथ्याकं र नेपाल प्रहरीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस