शंखु फेदी / दुई बर्ष अघि आएको बाढी र पहिरोले क्षतिग्रस्त भएको धुलिखेल नगरपालिका वडा नं १२, शंखुफेदीस्थित शंखेश्वरी मन्दिरको पुनर्निर्माण थालिएको छ ।
२०८० असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोले क्षतिग्रस्त भएको उक्त मन्दिर पुनर्निर्माणको लागि बाग्मती प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका सो क्षेत्रका प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाको पहल संस्कृति तथा पर्यटन मन्त्रालयले ५० लाख रकम विनियोजन गरेको थियो ।
पर्यटन विकास आयोजना, इकाई कार्यालय काठमाडौंमार्फत कार्यान्वय हुने योजनाको लागि चालु आर्थिक बर्षमा ४९ लाख ११ हजार ६ सय ६८ रुपैयाँ दशमलव सैत्तीस पैसाको काम हुनेछ । पर्यटन विकास आयोजनाबाट ४४ लाख ११ हजार ३ सय ५८ रुपैयाँ ३७ पैसा उपलव्ध हुनेछ भने उपभोक्ता समितिले ५ लाख ३ सय १० रुपैयाँ जुटाउनुपर्ने अध्यक्ष उत्तम राजभण्डारीले जानकारी दिए ।

पूर्वमन्त्री लामाले बिहिबार मन्दिर निर्माण शिलान्यास गर्दै बाढी, पहिरोबाट क्षतिग्रस्त संरचनाको लागि आफ्नो पहलमा बाग्मती प्रदेश सरकारबाट धेरै काम भएको जानकारी दिँदै काभ्रेपलाञ्चोक जिल्लाको विकासको लागि आफू सदैव कृयाशिल रहने बताए ।
शिलान्यास कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं १२ का अध्यक्ष मोहनप्रसाद लामिछाने, वडा नं १० का अध्यक्ष गोविन्द उपाध्याय, स्थानीय समाजसेवी माधव थापा, हिरा सिं तामाङ, अरुण तामाङ, अनुप लामिछानेलगायत स्थानीयको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस