भूमिडाँडा/ धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी बृतचित्र निर्माण गरिएको छ ।
धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा र आसपासका विभिन्न पाटालाई समेटेर बृत्तचित्र तयार पारिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङले भालेश्वर महादेव मन्दिर प्राङ्गणमा अवस्थित बालप्रकाश माध्यमिक विद्यालयको सभाहलमा बृत्तचित्र प्रदर्शनीको उद्घाटन गरे ।
परशुराम अधिकारीको निर्माण र लेखन रहेको उक्त बृत्तचित्रको सहनिर्मातामा जयराम के.सी र कृष्णचन्द्र अधिकारी रहनुभएको छ । निर्देशन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. राजन विनाएक पासाले गरेका छन् भने दृश्य सम्पादन प्रशान्त श्रेष्ठ र स्वराङ्कन दुर्गाराज पाण्डेले गरेका छन् ।
कार्यक्रममा प्रा.डा. जगमान गुरुङले पनौती क्षेत्रका धार्मिक, पौराणिक, साँस्कृतिक र एतिहासिक विशेषताहरुको चर्चा गरे । नेपालका चौसठ्ठी ज्योतिर्लिङ्गहरु मध्ये भालेश्वर १० औं ज्योतिर्लिङ्गका रुपमा हिमवत् खण्डमा उल्लेख भएको सन्दर्भ चर्चा गर्दै बृत्तचित्रले सिङ्गो पनौती, भूमिडाँडा मात्र नभएर मूल भालेश्वर र यहाँका गुम्वा र देवीहरुको प्रचार देशविदेशसम्म पुग्ने विचार व्यक्त गरे । बृतचित्रले कलाँती भूमिडाँडाको धार्मिक पर्यटकीय सम्भावनालाई समेटेकोले यो क्षेत्र भविष्यमा पर्यटनको गन्तव्य बन्न सक्ने विचार राखे ।
साहित्यकार सूर्यप्रसाद लाकोजूले स्रष्टा, संस्कृति र सभ्यता बचाउन हरेक चेतनशील वर्गले योगदान गर्नुपर्ने भन्दै अक्षरकर्मीहरुले कलासाहित्यमार्फत समाजमा योगदान गर्ने हुँदा आफ्नो जन्मस्थानका बारेमा बृत्तचित्र निर्माण गरेर निर्माता र लेखक परशुराम अधिकारीले थोरै भएपनि मातृऋण तिरेको विचार गरे ।
पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य डा. भरतप्रसाद बडालले कलाँती भूमिडाँडालाई कृषि र उद्योगलेभन्दा पर्यटनले समृद्ध बनाउन सकिने विचार व्यक्त गरे ।
बृत्तचित्र निर्देशक एवम् सम्पादक उप प्राध्यापक डा. राजन विनाएक पासाले आफूले यस्ता थुप्रै बृत्तचित्र निर्माण गरिसेकेको र अवको समय धार्मिक पर्यटनको समय भएकोले गुम्वा, भालेश्वर र यहाँका पाँचदेवीलाई एकैपटक धार्मिक पर्यटनसँग जोड्न सके भूमिडाँडामा पर्यटन विस्तार हुने धारणा राखे ।
बालप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास थापाले आफ्नो विद्यालयमा विद्वान् प्राज्ञहरुलाई ल्याएर वृत्तचित्रको सार्वजनिकीकरण गरेकोमा निर्माता, निर्देशकहरुलाई धन्यवाद दिदै वृत्तचित्र कलाँती भूमिडाँडाको धार्मिक लगायत अन्य पर्यटन प्रवर्धनमा कोसेढुङ्गा सावित हुने धारणा राखे ।
पनौती नगरपालिका वडा नं १२ का वडाध्यक्ष जयराम के.सीले राष्ट्रिय विद्वान् व्यक्तित्वहरु आएर वडाको गरिमा बढाइ दिएकोमा धन्यवाद दिँदै कलाँती भूमिडाँडाको पहिचान बढाउन र पर्यटन प्रवद्र्धन गर्न योगदान गरेकोमा निर्माता निेर्देशकलाई दिए ।
बृत्तचित्र निर्माता परशुराम अधिकारीले पित्तृभूमिबाट मातृऋण तिर्न बृत्तचित्र बनाएर सानो प्रयास गरेको विचार राखे । बृत्तचित्र निर्माणमा आफूहरुले झण्डै २ वर्ष लगाएको र थुप्रैपटक कलाँती भूमिडाँडाका गाउँवस्तीको यथार्थता र गहिराई बुझ्ने मौका मिलेको अनुभव सुनाए । कार्यक्रममा वृत्तचित्र निर्माणमा सहयोग गर्नुहुने सवैलाई कदरपत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस