पाँचखाल । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नं ७ लास्कोट र घुमाउने खोलाबीच फसेका यात्रुको उद्धार गर्ने सशस्त्र प्रहरीलाई नगदसहित सम्मान गरिएको छ ।
गत २१ वैशाख रातिको अविरल वर्षापछि आएको बाढीका कारण रोशी खोलामा फसेका पाँच माइक्रोबसका ८९ यात्रुलाई जोखिम मोलेर उद्धार गर्ने टोलीका सदस्यहरूलाई उद्धार कार्यमा देखाएको साहस, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सशस्त्र प्रहरी सहायक निरीक्षक भरत न्यौपाने, हबलदार श्रीकृष्ण कार्की, बुद्धि खड्का, सहायक हबलदार किरण कुँवर र अशोकजंग दनुवार छन् । सशस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वाटरका गणपति रहेका सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीको नेतृत्वमा उद्धार गरिएको थियो । पाँचखाल चौकी इन्चार्ज प्रशान्त तामाङ र इलाका प्रहरी कार्यालय देवीटारका इन्चार्ज इन्द्रबहादुर राउत पनि सम्मानित भएका छन् । सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उनीहरूलाई सम्मान गरेका थिए ।
उनले संगठनको भूमिका, विपद् व्यवस्थापन र नागरिक सुरक्षामा योगदानबारे चर्चा गर्दै अनुशासन र जनसेवामा थप सक्रिय हुनुपर्ने बताए । पोखरेलले तत्कालीन समयमा विशेष अवस्थाको लागि सशस्त्र प्रहरी स्थापना भएको भएपनि पछिल्लो समयमा सिमा सुरक्षासहित विपद व्यवस्थापन र शान्ती सुरक्षामा खटिएको बताए ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदमा परेका नागरिकको उद्धारमा सशस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वाटरले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी उल्लेखनीय काम गर्दै आएको बताए । विपदमा सिमित सुरक्षा सामग्रीको बाबजुद पनि सशस्त्र प्रहरी खटिएको भन्दै रोशी गाउँपालिकाले सकेको सहयोग गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै शान्ती सुरक्षा र काभ्रेको नागरिकको सुरक्षामा गणले महत्वपूर्ण काम गर्दै आएको बताए ।
गणका गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक माधव रेग्मीले गणका गतिविधिमा सहयोग गर्ने सबैमा आभार प्रकट गरे।
प्रतिक्रिया दिनुहोस