नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, पत्रकार गुरागाईँ सम्मानित

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित ९२ पटक पढिएको

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, पत्रकार गुरागाईँ सम्मानित

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको १२ औं जिल्ला अधिवेशनपछिको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

महासंघका केन्द्रीय कार्यसमिति अध्यक्ष निर्मला शर्मा, बाग्मती प्रदेश अध्यक्ष कृष्ण सारु मगरका साथै काभ्रेपलाञ्चोकका सदस्यहरुको उपस्थितीमा साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा सचिव नगेन्द्र अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशवराज पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसहमतिले पारित भएको छ ।

साधारणसभाकै अवसरमा महासंघका पूर्व अध्यक्ष भरतराज श्रेष्ठको स्मृतीमा स्थापना गरिएको ‘स्व. भरतराज श्रेष्ठ पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार मधुसुधन गुरागाईलाई प्रदान गरियो । विगत तीन दशकभन्दा लामो समयदेखि काभ्रेली पत्रकारिता क्षेत्रमा गरेको योगदान र क्रियाशीलताको कदर गर्दै गुरागाईंलाई नगद पाँच हजार पाँच सय पचपन्न रुपैयाँसहित सम्मान गरिएको हो ।

महासंघ अध्यक्ष निर्मला शर्मा, बाग्मती प्रदेश अध्यक्ष कृष्ण सारु, पुरस्कार छनोट समितिका संयोजक रहेका नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, अध्यक्ष बिनोदकुमार न्यौपानेलगायतले दोसल्लासहित सम्मान गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष शर्माले सरकारले सञ्चार क्षेत्रमाथि लगाएको अंकुश, आर्थिक नियन्त्रण र विज्ञापन नीतिमा गरिएको एकाधिकारका विरुद्ध पत्रकार महासंघ देशैभर सशक्त प्रतिवादमा उत्रिने बताइन् । महासंघले प्रधानमन्त्री, सञ्चारमन्त्री र सभामुखलाई ध्यानाकर्षण गराइसकेको भए पनि समस्या समाधान नभए थप सशक्त आन्दोलनमा जाने तयारीमा रहेको बताइन् ।

नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले पत्रकारहरूको पेशागत हकहित, प्रेस स्वतन्त्रता संरक्षण र संस्थागत सुदृढीकरणका लागि महासंघका धारणा राख्दै पत्रकारिता क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउन सबै सञ्चारकर्मीबीच एकता आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकाका पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, इश्वरी ओझा, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, बद्रीराज तिमल्सिना, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका सदस्य एवं सञ्चारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष कपिल कोइराला, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष राम प्रसाद ढकाल, प्रेस युनियनका सचिव शुभराज अधिकारी, आदिवासी जनजाती पत्रकार महासघंका अध्यक्ष ईन्द्रबहादुर थापा, लगायतले पत्रकारको पेशागत हकहित र सञ्चारमैत्री नीतिका बारेमा चर्चा गरे ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने साधारणसभामा सदस्यबाट प्राप्त सुझावका आधारमा आगामी दिनमा महासंघका गतिविधीलाई परिमार्जन गर्दै जाने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस