विज्ञापनको समानुपातिक वितरण सुनिश्चित गर्न माग

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित ११६ पटक पढिएको

विज्ञापनको समानुपातिक वितरण सुनिश्चित गर्न माग

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभेदकारी निर्णयको विरोध गर्दै विज्ञापनको समानुपातिक विवरण प्रणाली सुनिश्चित गर्न माग गरेको छ ।

शनिवार बनेपामा सम्पन्न साधारणसभाले एकद्वार प्रणालीका नाममा मिडियाहरू बन्द गराउने सरकारी कदमको भत्सर्ना गर्दै मिडियामैत्री विज्ञापन नीतिलाई प्रभावकारी बनाउन नेपाल सरकारलाई ध्यानाकर्षण गर्ने लगायतका ८ विशेष प्रस्ताव पारित गरेको अध्यक्ष विनोदकुमार न्यौपानेले जानकारी दिए ।

साधारणसभाले लोककल्याणकारी विज्ञापन नीतिमा सुधार तथा विज्ञापनवापतको रकम दोब्बर गरी समानुपातिक वितरण गर्ने व्यवस्था मिलाउन जोडदार गरेको छ । काभ्रेपलाञ्चोकका सम्पूर्ण स्थानीय तह र सरकारी निकायलाई लोककल्याणकारी विज्ञापन,सूचनाहरू जिल्लामा सञ्चालित सम्पूर्ण मिडियाहरूलाई समानुपातिक वितरण गर्न पनि माग गरेको छ ।

सूचना र सञ्चारसँग सम्बन्धीत निकायका पदाधिकारीको निलम्बन र बर्खास्ती गर्ने प्रक्रिया तत्काल बन्द गर्न र सूचनाको हकलाई अक्षरशः पालना गर्दै समान सूचना प्रदान गर्न सरकारसँग माग गरिएको छ ।

सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पुर्ण सरोकारवालाको उपस्थितिमा सर्वपक्षीय भेला गर्दै संविधान प्रदत्त हक, अधिकार र सुरक्षा स्थापित हुनेगरी कानुन निर्माणको पहलकदमी गर्नका साथै श्रमजीवी पत्रकारहरुको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघको प्रदेश र केन्द्रीय कार्यसमितिलाई स्पष्ट नीति र कानून निर्माण गरी अघि बढ्न नेपाल पत्रकार महासंघलाई साधारणसभाले अनुरोध गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता, प्रेससम्बन्धी संकुचन, नियन्त्रण र कानुन संशोधन जस्ता संविधान र सञ्चार विरोधी गतिविधिप्रति गरेका आन्दोलनमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले ऐक्यबद्धता जनाउँदै आन्दोलनका कार्यक्रममा सक्रियतापुर्वक सहभागिता जनाउन सम्पूर्ण सरोकारवालामा आव्हान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस