चक्रज्योतिका विद्यार्थीलाई एआई र साइबर सुरक्षा सम्बन्धी तालिम

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ १३, बुधबार मा प्रकाशित १९१ पटक पढिएको

चक्रज्योतिका विद्यार्थीलाई एआई र साइबर सुरक्षा सम्बन्धी तालिम

बनेपा / बनेपा नगरपालिका वडा नं १३ स्थित चक्रज्योति माध्यमिक विद्यालयमा कृत्रिम बौद्धिकता (Artificial Intelligence-AI) तथा साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको सहयोगमा सञ्चालित ६० घण्टाको उक्त तालिममा कक्षा ९ र १० मा अध्ययनरत चक्रज्योतिका विद्यार्थी सहभागी छन्।

विद्यालयका पूर्व प्रधानाध्यापक माधवप्रसाद तिमल्सिनाले कृत्रिम बौद्धिकताको आधारभूत परिचय, यसको प्रयोग, डिजिटल उपकरणहरूको सुरक्षित प्रयोग, सामाजिक सञ्जालमा अपनाउनुपर्ने सावधानी, पासवर्ड सुरक्षा, साइबर अपराधबाट बच्ने उपाय, डिजिटल नैतिकता लगायतका विषयमा अभिमुखीकरण गर्नेछन् । तिमल्सिनाले कृत्रिम बौद्धिकता र साइबर सुरक्षा अहिले विश्वव्यापी चासोको विषय बनेको बताउँदै विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै यससम्बन्धी ज्ञान दिन सके भविष्यमा उनीहरूलाई ठूलो फाइदा पुग्ने बताए ।

अभिमुखीकरण शुभारम्भ गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले अहिलेको युग प्रविधिको युग भएकाले विद्यार्थीहरूलाई समय अनुसारको ज्ञान र सीप प्रदान गर्नु विद्यालयको दायित्व भएको बताए । उनले कृत्रिम बौद्धिकता विश्वभर तीव्र रूपमा विकास भइरहेको र शिक्षा, स्वास्थ्य, सञ्चार, व्यापार लगायतका हरेक क्षेत्रमा यसको प्रभाव बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूले प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्न सिक्नुपर्ने धारणा राखे ।

प्रधानाध्यापक बिजेन्द्रबिर कर्मचार्यले वर्तमान समय डिजिटल प्रविधिको तीव्र विकास भइरहेको समय भएकाले विद्यार्थीहरूलाई कृत्रिम बौद्धिकता तथा साइबर सुरक्षाबारे सचेत गराउनु अपरिहार्य भएको बताए । विद्यालयले आगामी दिनमा पनि सूचना प्रविधि, डिजिटल शिक्षा तथा व्यावहारिक सीप विकाससँग सम्बन्धित थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस