‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित ४६ पटक पढिएको

‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ ।

बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समिक्षा कार्याक्रममा आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न आगामी आर्थिक वर्षमा ’काभ्रेपलाञ्चोक जलवायु सम्मेलन–२०८३’ आयोजना गरिने प्रमुख दिपक कुमार गौतमले जानकारी दिए ।

सरोकारवालाहरूको सहभागितामा जिल्लाको पहिलो ‘जलवायु उत्थानशील विकास मार्गचित्र’ तयार पारी जलाधार संरक्षण र हरित ऊर्जालाई केन्द्रमा राखिने नीति समितिले लिएको छ ।

परम्परागत उद्धार अभ्यासलाई परिवर्तन गर्दै विपद् आउनुअघि नै वैज्ञानिक नक्साङ्कन, पूर्वसूचना प्रणाली र स्थानीय स्वयंसेवक परिचालनमार्फत विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलता कार्ययोजना निर्माण गर्ने, ‘कोही पनि पालिका विकासबाट पछि नपर्ने’ अवधारणा अनुरूप भौगोलिक विकटता र सामाजिक अवस्थाका आधारमा पछाडि परेका क्षेत्रहरूलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा छ ।

सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र नागरिकमैत्री बनाउन डिजिटल शासन, अनलाइन सेवा, कन्टिजेन्सी रकम व्यवस्थित गर्ने कार्यविधि परिमार्जन र क्यूआर भुक्तानी प्रणालीलाई सुदृढ गरिने, कृषिलाई निर्वाहमुखीबाट व्यावसायिकतातर्फ रूपान्तरण गर्दै रैथाने बाली, जैविक कृषि र स्थानीय मौलिक खाद्य संस्कृतिको संरक्षण एवं व्यवसायीकरण गरिने, नमोबुद्ध, पनौती, बेथानचोक र तेमाल लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यहरूको एकीकृत विकास गरी पर्यटनलाई रोजगारी र स्थानीय अर्थतन्त्रको प्रमुख आधार बनाइने नीति लिइएको छ ।

जिल्ला समन्वय समितिका सदस्य र जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सहभागी सभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई आगामी आर्थिक बर्षमा कार्यक्रमिक रुपमा अघि बढाउने निर्णय गरेको प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार, सभाले आर्थिक वर्ष २०७५/०७६ बाट मौज्दात कोषमा रहेको कुल ४२ करोड ८४ लाख १६ हजार ५ सय ३८ रुपैयाँ मध्ये स्थानीय तहको लागत साझेदारीमा प्रशासनिक भवन, स्वास्थ्य संस्था, खानेपानी र शैक्षिक पूर्वाधारमा निरन्तर लगानी गरिएपश्चात् हाल उक्त कोषमा रु. ४ करोड ५२ लाख १४ हजार १ सय १४ रुपैयाँ रहेकोमा विभिन्न शीर्षकमा रहेर बाँकी रहेको रकम रकमान्तर गर्ने र कन्टिजेन्सी रकम खर्च गर्र्ने कार्यविधी संशोधन गर्ने निर्णय गरेको छ ।

समितिले प्रस्तुत गरेको वित्तीय विवरण अनुसार संघीय सरकारबाट प्राप्त रु. १ करोड ५७ लाख ६२ हजार बजेटमध्ये रु. १ करोड १५ लाख ७५ हजार (७३.४४ प्रतिशत) र बागमती प्रदेश सरकारबाट प्राप्त रु. २८ लाखमध्ये रु. १३ लाख ७९ हजार (४९.२६ प्रतिशत) खर्च भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले जिल्ला सभा तथा प्रगति समिक्षा कार्यक्रम उद्धघाटन गरेका थिए ।

कार्यक्रमा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले समन्वय, सहअस्तित्व र सहकार्यमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस