हेटौँडा / नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार तथा उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । पत्रकार भगवती तिमल्सिनासहितका पत्रकारहरुलाई सम्मान गरेको छ ।
पाँचौँ साधारण सभाको अवसरमा विभिन्न पत्रकारिता पुरस्कार तथा सम्मानहरू प्रदान गरिएको हो ।
‘रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार भगवती तिमल्सिनालाई प्रदान गरियो । ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ बाट पत्रकार प्रतिमा सिलवाल र ‘स्व. सुर्जबहादुर सारु मगर स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार ध्रुव अधिकारी पुरस्कृत भए । तीनै वटा पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ ।
पत्रकारिता क्षेत्रमा योगदान दिएका नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा र नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चितवनका पत्रकार दिपक आचार्यलाई ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरियो ।
उत्कृष्ट शाखाको रुपमा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा धादिङ पुरस्कृत भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, बाग्मती प्रदेश अध्यक्ष कृष्ण सारु मगरलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस