बीपी राजमार्ग दुर्घटनाः ज्यान गुमाउने आठै जनाको पहिचान खुल्यो

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ ३०, शनिबार मा प्रकाशित १३८ पटक पढिएको

बीपी राजमार्ग दुर्घटनाः ज्यान गुमाउने आठै जनाको पहिचान खुल्यो

धुलिखेल / बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं २ स्थित सेल्फीडाँडामा भएको सवारी दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रहेका प्रहरी नायब उपरिक्षक रविन विष्टका अनुसार, दुर्घटनामा ज्यान गुमाउने सबै जनाको सनाखत गरिएको छ ।

दुर्घटनामा एकै वडाका ३ सहित रोशी गाउँपालिकाका ६ जनाका साथै नेपाली सेनाका अमलदार र सिन्धुलीको घ्याङलेख गाउँपालिकाका १ जनाले ज्यान गुमाएका छन् ।

रोशी गाउँपालिका वडा नं. ६ का अन्दाजी ७३ वर्षीय मेघ बहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय ईन्द्र बहादुर तामाङले सवारी दुर्घटना परी ज्यान गुमाएका छन् । सोही गाउँपालिकाको वडा नं. ७ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा र वडा नं. ८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङले पनि ज्यान गुमाएका छन् ।

दैलेख घर भई हाल नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. ४ बस्ने २२ वर्षीया सुमी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकका आफन्तहरूलाई सम्पर्क गरि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको यात्रुबहाक बस बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ५ सय मिटर तल खस्दा ८ जनाले ज्यान गुमाएका थिए । घाइते १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस