दाप्चा माविमा स्वास्थ्य शिविर र विद्यार्थीलाई ट्रयाक सुट

नौलो समाचार संवाददाता
२०८३ अषाढ १, सोमबार मा प्रकाशित ८ पटक पढिएको

दाप्चा माविमा स्वास्थ्य शिविर र विद्यार्थीलाई ट्रयाक सुट

दाप्चा / भक्तपुर इन्टरनेसनल हस्पिटल, कौशलटार, भक्तपुरले नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरका साथै विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ ।

स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने र विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले दाप्चा मावि, बाल क्लव र जुनियर रेडक्रस सर्कलको सहकार्यमा कार्यक्रम गरिएको अस्पताल प्रमुख एवं सो विद्यालयका पूर्व विद्यार्थी रेखा श्रेष्ठले जानकारी दिइन् ।

भक्तपुर इन्टरनेसनल हस्पिटलका विशेषज्ञ डाक्टरहरूद्वारा स्त्रीरोग, हाडजोर्नी, बाथरोग, मधुमेह (सुगर) जाँच, रक्तचाप (प्रेसर) जाँच, जनरल मेडिसिन सेवा प्रदान गरिनुका साथै सम्पूर्ण बिरामीहरूका लागि निःशुल्क औषधि वितरण समेत गरिएको छ । एक सय ३० जनाले सेवा लिएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र सिं घटालले जानकारी दिए ।

स्वास्थ्य शिविरकै अवसरमा दाप्चा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकका रूपमा निःशुल्क ट्रयाक सुट वितरण गरिएको थियो ।

नमोबुद्ध नगरपालिकाले प्रमुख कुनसाङ लामाले स्वास्थ्य शिविर शुभारम्भका साथै ट्रयाक सुट वितरण गर्दै आफ्नो जन्मस्थान सम्झदै सहयोग गरेकोमा आभार प्रकट गरे ।

दाप्चा माविका पूर्व विद्यार्थी रेखा श्रेष्ठल आफूले अध्ययन गरेको, माइती गाउँको विद्यालयमा सहयोग गर्न पाउँदा धेरै खुसी लागेकोे बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं ८ का अध्यक्ष शेरबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अधिकारी लगायतले विद्यालय र स्थानीय समुदायलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस