पनौती / पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
शुक्रवार नगरसभाको १९ औं अधिवेशनमा नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।
‘समृद्ध र प्रविधिमैत्री पनौती’ को सङ्कल्पसहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सूचना प्रविधि, नागरिक स्वास्थ्य, रैथाने कला-संस्कृति र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ।
डिजिटल सुशासन र ‘My Panauti App’ को घोषणा
नगरपालिकाले आफ्नो सेवा प्रवाहलाई पारदर्शी र नागरिककेन्द्रित बनाउन प्रविधिको उच्चतम् प्रयोग गर्ने नीति लिएको छ। जसअन्तर्गत नागरिकका गुनासो सुनुवाइ र सूचनाको पहुँच सहज बनाउन ‘My Panauti App’ कार्यान्वयनमा ल्याइने भएको छ। यसैगरी, कर्मचारीहरूको नियमितताका लागि सबै वडा, स्वास्थ्य संस्था र विद्यालयहरूमा विद्युतीय हाजिरी (e-Attendance) अनिवार्य गरिनेछ भने डिजिटल सञ्चारलाई सुरक्षित बनाउन इन्क्रिप्टेड भीपीएन (VPN) र स्वचालित क्लाउड ब्याकअप (Automated Cloud Backup) प्रणाली लागू गरिनेछ। नागरिकका सुझाव संकलनका लागि पालिकामा पैसा नलाग्ने कल सेन्टर समेत स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रविधिमैत्री शिक्षा र उच्च शिक्षामा प्रोत्साहन
पनौती नगरपालिकाले उच्च शिक्षातर्फ पनौतीका स्थायी बासिन्दाले विद्यावारिधि (PHD) गरेमा ‘पनौती ज्ञान रत्न पुरस्कार’ सहित नगद प्रदान गर्ने र स्नातकोत्तर र एमफिल (MPhil) को शोधपत्र (Thesis) का लागि आर्थिक सहयोग उपलब्ध गराउने नीति लिएको छ । ‘गुणस्तरीय प्रविधि मैत्री शिक्षाः पनौती नगरको इच्छा’ भन्ने नाराका साथ नगरले विद्यालयहरूमा ई-लर्निङ र सूचना प्रविधियुक्त कक्षाकोठा विकास गर्ने भएको छ। शिक्षक र कर्मचारीको पारिश्रमिक सिधै बैंक खातामा पठाउने व्यवस्था गरी प्रशासनिक खर्च कटौती गरिने, स्थानीय नेवारी र तामाङ भाषा शिक्षणका लागि घुम्ती शिक्षकको व्यवस्था गराइने उल्लेख छ । विद्यार्थी सख्या तथा विद्यालयको सिकाइ प्रभावकारीताका आधारमा ठूला विद्यालयको विकास गर्ने अवधारणा नगरपालिकाले लिएको छ ।
कृषि ब्रान्डिङ र ‘Zero Death by 2030’ को लक्ष्य
पनौतीको आलु, काउली र दुग्ध उत्पादनलाई प्रवर्द्धन गर्न “पनौती अर्गानिक ब्रान्ड” स्थापना गरिने भएको छ। कृषकहरूलाई प्रोत्साहन गर्न ‘भैँसी सुत्केरी भत्ता’ र ५० प्रतिशत अनुदानमा कृषियन्त्र तथा टनेल प्लास्टिक वितरणलाई निरन्तरता दिइने, पशु स्वास्थ्यतर्फ महामारीजन्य रोगविरुद्ध खोप अभियान चलाइने, कुकुरको टोकाइबाट हुने रेबिज रोग नियन्त्रण गरी सन् २०३० सम्म शून्य मृत्यु (Zero Death by 2030) को विश्वव्यापी लक्ष्य हासिल गर्न बन्ध्याकरण र खोप कार्यक्रमलाई तीव्र बनाइने उल्लेख छ ।
पारदर्शी पूर्वाधार विकास र राजमार्ग पुनरावलोकनको माग
पूर्वतयारी र स्थानीय तहसँग समन्वय नगरी घोषणा गरिएको ग्वार्को-लुभु-लाकुरी भन्ज्याङ-कुशादेवी-पनौती दाहालटार सडक खण्ड (NH15) लाई पुनरावलोकन गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने नीति लिएको छ ।
पूर्वाधारतर्फ लागत प्रतिस्पर्धी बनाउन ५ लाख रुपैयाँभन्दा माथिका सम्पूर्ण योजनाहरू ठेक्का प्रक्रियामार्फत मात्र कार्यान्वयन गरिने परिपाटीलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । नगरका सडकहरूलाई ‘Web-based Information System’ मार्फत अद्यावधिक गरिनेछ भने पूर्वाधार संरक्षणका लागि २ प्रतिशत बजेट छुट्ट्याएर विशेष कोष बनाइने उल्लेख छ । विपद् व्यवस्थापनका लागि प्रारम्भिक चेतावनी प्रणाली (Early Warning System) को स्थापना र प्लास्टिकमुक्त नगर अभियानलाई तीव्रता दिइने कार्यक्रममा उल्लेख छ।
विश्व सम्पदा सूचीको पहल र मूर्ति फिर्ता अभियान
पनौतीको ऐतिहासिक तथा पुरातात्त्विक दरबार क्षेत्र (Panauti Durbar Square) लाई युनेस्कोको विश्व सम्पदा सूचीमा स्थायी रूपमा सूचीकृत गराउन कूटनीतिक र पूर्वाधारको पहललाई तीव्रता दिइने नगर प्रमुखले भण्डारीले बताए । नगर क्षेत्रबाट विभिन्न समयमा चोरी भएका ऐतिहासिक मूर्तिहरू पहिचान गरी पुरातत्त्व विभाग र सम्बन्धित देशका राजदूतहरूमार्फत पनौतीमै फिर्ता ल्याउने कूटनीतिक अभियान सञ्चालन गरिने उनले जानकारी दिए । त्रिवेणी घाट, इन्द्रेश्वर मन्दिर लगायतका क्षेत्रलाई समेटेर धार्मिक पर्यटनको वृहत्तर गुरुयोजना बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
निःशुल्क स्वास्थ्य सेवा र ‘मेयर दन्त कार्यक्रम‘
पनौती नगर अस्पताल र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रको सुदृढीकरण गर्दै बीमा सेवालाई प्रभावकारी बनाइने, नगरभित्र विशेषज्ञसहितको मानसिक स्वास्थ्य, बाल रोग र स्त्री रोग सेवा बिस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ज्येष्ठ नागरिकका लागि ‘घरदैलो स्वास्थ्य कार्यक्रम’ र निःशुल्क कृत्रिम दाँत जडानका लागि ‘मेयर दन्त सेवा कार्यक्रम’ लाइ निरन्तरता दिइएको छ। यसका साथै, सुत्केरी आमाहरूलाई प्रोत्साहन भत्ता, ग्रामीण अल्ट्रासाउन्ड र पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA) निःशुल्क उपलब्ध गराइने, सबै स्वास्थ्य संस्थाहरूमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली (EHR/EMR) लागू गरिने नगर प्रमुख भण्डारीले बताए ।
नगर प्रमुख भण्डारीले यो नीति तथा कार्यक्रमले पनौतीलाई समुन्नत र सुशासित नगर बनाउन कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी र आम नगरवासीसँग सहयोगको अपिल गरे ।
प्रतिक्रिया दिनुहोस