नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ९१ करोड ३६ लाखको बजेट प्रस्तुत

नौलो समाचार संवाददाता
२०८३ अषाढ ८, सोमबार मा प्रकाशित ५८ पटक पढिएको

नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ९१ करोड ३६ लाखको बजेट प्रस्तुत

भकुण्डेबेँसी / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ ९ करोड २४ लाख ५६ हजार रुपैयाँ संकलन हुने अनुमान गरेको छ। बाँकी स्रोतका लागि संघीय र बागमती प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र अन्य आयलाई समेटिएको नगर उपप्रमुख लामाले जानकारी दिए । विनियोजित कुल बजेटमध्ये चालुतर्फ २० करोड २९ लाख ४४ हजार रुपैयाँ छुट्ट्याइएको छ पुँजीगततर्फ ७१ करोड ७ लाख ९९ हजार १ सय ८० रुपैयाँ छुट्याइएको छ । विभिन्न निकायहरूसँगको लागत साझेदारीका लागि ९ करोड १५ लाख रुपैयाँ व्यवस्था गरिएको छ।

पूर्वाधार  विकास र उद्यमशीलता प्रवर्द्धनलाई ’ लाई मुख्य प्राथमिकता

नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पशुपालन, सिँचाइ विस्तार र उद्यमशीलता प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। दाहालचौरमा निर्माणाधीन कोल्ड स्टोरलाई बहुवर्षीय योजनाका रूपमा सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने विस्तारित बजार क्षेत्रमा मानव मलमूत्र व्यवस्थापनका लागि ५० लाख रुपैयाँको लागतमा सक्सन मेसिन खरिद गरिने उल्लेख छ ।

संघीय र प्रदेश सरकारसँगको सहकार्यमा नगरभित्रका वडा नं. ७ को नौबिसे–साउनेडाँडा सडकका लागि ३ करोड ५० लाख रुपैयाँ, वडा नं. ३ को दाहालचौर–तिमाल सडकका लागि २ करोड रुपैयाँ, वडा नं. १० को दलसिङ्गे–दाप्चा सडकका लागि २ करोड रुपैयाँ र वडा नं. १ को हिराको पसल–मथुरापाटी सडकका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्यतर्फ दाप्चा नमोबुद्ध नगर अस्पतालको सुदृढीकरण, मानसिक स्वास्थ्य सेवा र आयुर्वेद सेवा विस्तारका साथै गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा र डिजिटल स्वास्थ्य प्रणाली लागू गरिने नीति तथा कार्यक्रममा छ ।  महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गर्न मासिक १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्तालाई निरन्तरता दिँदै अवकाश हुँदा एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ।

बालमैत्री नगरपालिका घोषणा, विद्यार्थी छात्रवृत्ति, स्थानीय पाठ्यपुस्तक निर्माण, ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम, र प्रविधिमैत्री विद्यालय विकास कार्यक्रमले प्राथमिकता पाएका छन् ।

सामाजिक सुरक्षा र डिजिटल सुशासन

नगरपालिकाले बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राहीहरूका लागि घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ। नगरलाई सडक मानवमुक्त बनाउने, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउने र ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने नीतिले पनि निरन्तरता पाएका छन् ।

विपद् व्यवस्थापनका लागि नगरस्तरीय प्रकोप व्यवस्थापन कोषमा २ करोड रुपैयाँ छुट्ट्याइएको छ भने भू–सूचना प्रणाली र आपतकालीन सञ्चालन केन्द्र स्थापना गरिने नगरपालिकाले जनाएको छ । वैज्ञानिक फोहोर व्यवस्थापन, स्रोतमै फोहोर वर्गीकरण, डिजिटल प्रशासन, साइबर सुरक्षा र शून्य बेरुजु नीतिलाई कडाइका साथ लागू गरिने बताइएको छ। आमसञ्चार क्षेत्रको प्रवर्द्धन र सहकार्यका लागि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई २ लाख रुपैयाँ अनुदान समेत विनियोजन गरिएको छ।

नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख कुनसाङ लामाले यस पटकको योजनाले विपद्पछिको पुनर्निर्माणलाई समेत सम्बोधन गर्दै नमोबुद्धको समग्र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस