अब रोशी गाउँपालिकामा नै लालपूर्जा बन्ने, नापीको सेवा पनि उपलव्ध

नौलो समाचार संवाददाता
२०८३ अषाढ ८, सोमबार मा प्रकाशित ५५ पटक पढिएको

अब रोशी गाउँपालिकामा नै लालपूर्जा बन्ने, नापीको सेवा पनि उपलव्ध

अमलटार  / रोशी गाउँपालिकाले नै भूमि प्रशासन सेवा (मालपोत र नापी) शुरु गरेको छ ।

पहिलो सेवा ग्राही रोशी गाउँपालिका–७ का मोहन सिं लामालाई जग्गाको नक्सा प्रदान गरी गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा शुभारम्भ गरेका हुन् । पहिलो पटक सेवा लिन आएका मोहन सिंलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष मिमबहादुर वाइवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकूरप्रसाद दाहालसहितले खादा लगाएर स्वागत गरेका हुन् ।

नेपाल सरकारले पहिलो चरणमा ३५ वटा पालिकामा भूमि प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेकोमा काभ्रे जिल्लाका रोशी र भूम्लु गाउँपालिका छनौटमा परेका थिए । केही दिन अघि भूम्लुमा पनि सेवा प्रारम्भ भएको थियो । यस अघि भूमि प्रशासन तथा नापी र मालपोत सेवा जिल्लाबाट मात्र हुने गरेको थियो ।

नक्सा लिनकै लागि समेत धाएर धुलिखेल जानुपर्ने अवस्था अन्त्य भएको भन्दै सेवाग्राही लामाले खुशी लागेको बताए ।

रोशीका नागरिकलाई सहज र सरल सेवा प्रदान गर्दै आएकोमा मालपोत र नापीको सेवा पनि प्रदान गर्न पाउँदा अत्यन्तै खुसी र गौरव अनुभव भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । ‘हामीले आजबाट भूमि प्रशासन तथा साविकको नापि तथा मालपोतको सेवा गाउँपालिकाबाटै प्रारम्भ गरेका छौं,’ उनले भने, ‘आगामी दिनमा सेवालाई चुस्तदुरुस्त, सरल र सहज रुपमा निरन्तर प्रवाह गर्दै जानेछौँ । नेपालको संविधान २०७२ ले दिएको अधिकारको बल्ल कार्यान्वयन भएको छ । ’

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवाले संविधानको मूल मर्म भनेको नै आफ्नै गाउँ ठाउँमा सबै प्रकारको सेवा नागरिकले प्राप्त गर्नु भएको बताउदै संघीयता आएको लामो समयपछि नागरिकले भूमि प्रशासन सेवा प्राप्त गरेको बताए ।

जग्गासम्बन्धी कामको लागि नागरिकले सँधै जिल्लाको सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको रोशी–७ का वडाध्यक्ष अशोक गौतमले बताए ।

३५ वटा पालिकामा भूमि प्रशासन सेवा प्रदान गर्ने नीति अन्र्तगत रोशी गाउँपालिकामा पनि कर्मचारी व्यवस्थापन भई सबै प्रणाली विकास भइ सेवा शुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस