धुलिखेलमा होटल व्यावसायी र कर्मचारीका लागि ‘आतिथ्य सत्कार’ तालिम

नौलो समाचार संवाददाता
२०८३ अषाढ ९, मंगलबार मा प्रकाशित ११० पटक पढिएको

धुलिखेलमा होटल व्यावसायी र कर्मचारीका लागि ‘आतिथ्य सत्कार’ तालिम

धुलिखेल / धुलिखेलको पर्यटन तथा होटल व्यवसायलाई थप व्यावसायिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ होटल व्यवसायी तथा कर्मचारीहरूका लागि ‘हस्पिटालिटी म्यानेजमेन्ट (आतिथ्य सत्कार) तालिम’ गरिएको छ ।

पर्यटन कार्यालय काठमाडौंको आयोजनामा भएको कार्यक्रममा धुलिखेलका होटल, रिसोर्टका ५० भन्दा बढी सञ्चालक र कर्मचारी सहभागी थिए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले नगरपालिकाले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्दै नगरपालिकामा पर्यटन तथा कला संस्कृति शाखा नै व्यवस्था गरेर पर्यटकीय गतिविधिहरूलाई थप चलायमान र सुदृढ बनाइरहेको बताए । विगतमा बाटोघाटोको खराब अवस्थाका कारण धुलिखेलको पर्यटन र होटल व्यवसायीहरू केही समय निराश हुनुपरेको स्मरण गर्दै बाटो निर्माण भएसँगै स्थितिमा निकै सुधार आइसकेको र आन्तरिक पर्यटकहरूको आगमन क्रमिक रूपमा बढ्दै गइरहेको बताए ।

पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोखरेलले कार्यालयका गतिविधि तथा कार्यक्षेत्रका बारेमा जानकारी गराउँदै होटल क्षेत्रले पाहुनाको उचित सत्कार र ‘अतिथि देवो भवः’ को मर्मलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

पर्यटन अधिकृत यज्ञ बहादुर ओलीले सेवा क्षेत्रमा निरन्तर विकास गरेर मात्रै पर्यटन क्षेत्रलाई अपेक्षित रूपमा विकसित गर्न सकिनेमा जोड दिए ।

तालिम कार्यक्रममा बोल्दै होटल एशोसिएशन नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष प्रल्हाद प्याकुरेलले तालिमले धुलिखेल आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई उत्कृष्ट आतिथ्यता प्रदान गर्न र यहाँको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

धुलिखेल पर्यटन प्रवर्द्धनका लागि ब्रोसर
धुलिखेलको पर्यटन प्रवर्द्धनका लागि विशेष सामग्री (ब्रोसर) समेत अनावरण गरिएको छ। होटल एशोसिएशन काभ्रे, धुलिखेल वातावरण तथा पर्यटन प्रवर्द्धन समिति र रोटरी क्लब अफ धुलिखेलको संयुक्त सक्रियता एवं धुलिखेल नगरपालिका वडा नं. ७ को सहयोगमा उक्त प्रचार सामग्री तयार पारिएको हो।


ब्रोसरमा धुलिखेलका ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको चिनारी, त्यहाँ पुग्ने सहज बाटो (मार्ग) र धुलिखेलमा रहेर पर्यटकीय रूपमा गर्न सकिने विविध गतिविधिहरूका बारेमा विस्तृत रूपमा उल्लेख गरिएको छ। साथै धुलिखेलको प्राकृतिक सम्पदा र विशेषताहरूको बारेमा जानकारीमूलक सामग्रीहरू समेत समेटिएका छन्।





प्रतिक्रिया दिनुहोस