नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मधुसुधन गुरागाईं निर्वाचित

नौलो समाचार संवाददाता
२०८३ कार्तिक २०, बिहिबार मा प्रकाशित ८१ पटक पढिएको

नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मधुसुधन गुरागाईं निर्वाचित

काठमाडौं / नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) को नयाँ अध्यक्षमा मधुसुधन गुरागाईं निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न मञ्चको १३औँ वार्षिक साधारणसभाले गुरागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

पत्रकारितामा २५ वर्षभन्दा बढी अनुभव हासिल गरेका गुरागाईं हाल काभ्रेन्युज अनलाइन मिडियासँग आबद्ध छन्। यसअघि उनले नागरिक, रिपब्लिका लगायतका राष्ट्रिय दैनिक तथा विभिन्न सञ्चारमाध्यममा रहेर पत्रकारिता गरेका थिए।

मञ्चको नयाँ कार्यसमितिको उपाध्यक्षमा रोहन श्रेष्ठ, सचिवमा स्मिथु घिसिङ र कोषाध्यक्षमा राजकुमार तिमिल्सेना निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा वर्षा गौतम, उषा भट्टराई र अदिति पोखरेल चयन भएको मञ्चद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै निवर्तमान अध्यक्ष राजन पोखरेलले नयाँ नेतृत्वले मञ्चलाई थप गतिशील बनाउँदै नेपालमा विज्ञान पत्रकारिताको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

यसैबीच, मञ्चले कार्यक्रम सञ्चालन तथा विज्ञान लेखन र पत्रकारिताको प्रवर्द्धनका लागि पूर्वअध्यक्ष राजन पोखरेलको नेतृत्वमा कार्यक्रम समिति पनि गठन गरेको छ। पोखरेलले कार्यक्रम निर्देशकको जिम्मेवारी पाएका छन्। समितिको विज्ञ सदस्यमा डा. अखण्डराज उप्रेती नियुक्त भएका छन् भने सदस्यहरूमा छात्र कार्की, राजेन्द्र खनाल, डा. प्रयण पोखरेल र उत्सव सिलवाल रहेका छन्।

कार्यक्रम समितिले देशभर विज्ञान लेखन तथा विज्ञान पत्रकारितासम्बन्धी गतिविधि सञ्चालन गर्ने, नयाँ अवसरहरूको सिर्जना गर्ने र विज्ञान पत्रकारिताको विस्तार तथा प्रवर्द्धनका लागि आवश्यक कार्यक्रमहरू अघि बढाउने जिम्मेवारी पाएको छ।






प्रतिक्रिया दिनुहोस


↑