धुलिखेल/ नेपाल युवा उद्यमी मञ्च काभ्रेपलाञ्चोकले वर्ष २०२६/२७ का लागि क्षितिज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
दोस्रो वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । समितिमा निवर्तमान अध्यक्ष आशिष हुमागाईँ, प्रथम उपाध्यक्ष जुलिया श्रेष्ठ, द्वितीय उपाध्यक्ष रोहित श्रेष्ठ छन् । कार्यकारी समिति सदस्यहरूमा रोजन श्रेष्ठ, हेभन श्रेष्ठ, श्रेया श्रेष्ठ, सृजल रञ्जित, अजय थापा, सुजल मानन्धर र सुशान्त थपलिया चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदभार ग्रहणपछि नयाँ जिम्मेवारीप्रति आभार व्यक्त गर्दै आफ्नो कार्यकालमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) र डिजिटल टूल्स (Digital Tools) को प्रयोगमार्फत युवा उद्यमीहरूमाझ नयाँ सम्भावनाहरूको खोजी गर्ने र उद्यमशीलतालाई थप सहज एवं प्रभावकारी बनाउन विशेष कार्य गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष सुदिप घिमिरे, निवर्तमान केन्द्रीय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, काभ्रेपलाञ्चोकका संस्थापक अध्यक्ष ज्योत्सना सैंजु, द्वितीय उपाध्यक्ष जुलिया श्रेष्ठ लगायतका वक्ताहरूले युवा मष्तिष्कहरूबीच नेटवर्क स्थापना गर्ने र उनीहरूको पहिचान, प्रेरणा तथा प्रोत्साहनमा जोड दिएका थिए। काभ्रे जिल्लाका युवा उद्यमीहरूलाई एकजुट बनाउँदै आगामी दिनमा व्यवसायिक विकास र सामाजिक रूपान्तरणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यकारी समिति सदस्य अजय थापाले विगतमा संस्थाले गरेका विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूको प्रतिवेदन प्रस्तुत गरे । संस्थाले यो वर्ष योगा तथा माइन्डफुलनेस सेसन, धुलिखेल नगरपालिकाले आयोजना गरेको ‘जब फेयर’ मा सहभागिता, सन्जोग कोइरालामार्फत ‘पर्सनल फाइनान्स’ सम्बन्धी तालिम, युवा दिवस, विश्व पर्यटन दिवस तथा विश्व वातावरण दिवसका अवसरमा गरिएका वृक्षारोपण जस्ता कार्यक्रमहरू गरेको कार्यक्रममा जानकारी दिइयो ।




प्रतिक्रिया दिनुहोस