‘हरित अर्थतन्त्र’ प्रवद्र्धन गर्दै सहकारी

वातावरणमैत्री लगानीदेखि ग्रिन लोनसम्म, सहकारीको नयाँ अभ्यास
नगेन्द्र अधिकारी
२०८३ अषाढ १४, आईतबार मा प्रकाशित ८६ पटक पढिएको

‘हरित अर्थतन्त्र’ प्रवद्र्धन गर्दै सहकारी
नवलपरासीस्थित विकु बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको ग्रिन सेभिङ योजनाबारे प्रचार गर्दै संस्थाका सदस्य र कर्मचारीहरु । तस्वीर सौजन्य : विकु साकोस

काठमाण्डाै‌ / जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा प्रतिरोधात्मक क्षमता विकास गर्दै दिगो अर्थतन्त्र निर्माणका लागि वित्तीय लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘हरित वित्त’ अभियानमा सहकारी संघसंस्थाहरु पनि जोडिन थालेका छन् ।

नेपाल राष्ट्र बैंकले २ वर्षअघि नै ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ लागू गरी बैंकहरुले शून्य कार्बन उत्सर्जन गर्ने उद्योग व्यवसायलाई ग्रिन, न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई एम्बर र बढी कार्बन उत्सर्जन गर्ने उद्योग व्यवसायलाई रेडमा वर्गीकरण गरेर लगानीको प्राथमिकताहरू बनाउनुपर्ने ब्यवस्था गरेको छ । छुट्टै कार्यविधि वा निर्देशन जारी नभएपनि यही अवधारणाअनुसार सहकारी संस्थाहरूले पनि वातावरणमैत्री लगानी र हरित वित्तीय अभ्यासलाई प्राथमिकता दिन थालेका छन्।

नेपाल राष्ट्र बैंकको ग्रिन फाइनान्स ट्याक्सोनोमीले दिगो आर्थिक विकास सुनिश्चित गर्ने, जलवायु परिवर्तनका असर कम गर्ने र वातावरण संरक्षणमा योगदान पु¥याउने क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन गरेको छ। सो व्यवस्थाअनुसार वित्तीय संस्थाले लगानी गर्दा गतिविधिलाई तीन वर्गमा विभाजन गर्नुपर्ने व्यवस्था छ ।

जसअनुसार कम वा शून्य कार्बन उत्सर्जन गर्ने उद्योग तथा व्यवसायलाई ‘ग्रिन’, न्यून कार्बन उत्सर्जन गर्ने गतिविधिलाई ‘एम्बर’ र उच्च कार्बन उत्सर्जन गर्ने गतिविधिलाई ‘रेड’ वर्गमा राखिएको छ । ग्रिन क्षेत्रमा लगानी बढाउने, एम्बर क्षेत्रमा लगानी गर्दा सचेत हुने र रेड वर्गका गतिविधिमा लगानी निरुत्साहित गर्ने नीति लिइएको छ।

सहकारीमा ग्रिन सेभिङदेखि ग्रिन लोनसम्म

हरित अर्थतन्त्र प्रवद्र्धनका लागि सहकारी क्षेत्रले आफ्ना वित्तीय उत्पादन र कार्यक्रमलाई समेत परिवर्तन गर्न थालेका छन् । समुदायस्तरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूले आन्तरिक ऋण तथा बचत नीतिमा वातावरणमैत्री लगानीलाई समेट्न थालेका छन् ।

नवलपरासीको गैँडाकोटस्थित विकु बचत तथा ऋण सहकारी संस्था ले हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रिन सेभिङ’ र ‘ग्रिन लोन’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सहकारीको व्यवसाय प्रवद्र्धन शाखा प्रमुख हरिराम अम्बाईका अनुसार संस्थाले सदस्यलाई वातावरण संरक्षणसँग जोड्ने गरी बचत र कर्जा योजना सञ्चालन गरेको छ । “ग्रिन सेभिङ अन्तर्गत प्रत्येक सदस्यलाई कागतीको बिरुवा उपलब्ध गराउँछौं । फल लाग्न थालेपछि बचत फिर्ता लिन सकिन्छ र ४ दशमलव २५ प्रतिशत ब्याज पनि प्रदान गर्छौं,” उनले भने ।
‘एक सदस्य एक विरुवा’ अभियान सञ्चालन गरेको सहकारीले प्रत्येक सदस्यलाई कागतीको विरुवा उपलव्ध गराउँछ । खाली सार्वजनिक जग्गामा बृक्षारोपण, प्लाष्टिक नियन्त्रणको लागि डस्टविन वितरण लगायतका काम गर्दै आएको छ ।

 

अम्बाईअनुसार बहुवर्षीय खेती प्रवद्र्धनका लागि ‘ग्रिन लोन’ अन्तर्गत कागती, सुन्तला, आँप, लिचीलगायत खेतीका लागि ५ दशमलव ९९ प्रतिशत ब्याजदरमा ४० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइएको छ । हालसम्म करिब १५० जना सदस्यले यस्तो कर्जा लिएका छन्।

सहकारीले वातावरण संरक्षणसँगै प्रविधिमैत्री वित्तीय सेवा विस्तारलाई पनि प्राथमिकता दिएको छ। कागजरहित बैंकिङलाई प्रोत्साहन गर्दै पासबुक र चेकको प्रयोग घटाएर एसएमएस बैंकिङलगायत डिजिटल माध्यम प्रयोग गर्न सदस्यलाई प्रेरित गरिएको छ।

यस्तै विद्युतीय सवारी खरिदका लागि समेत ४० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने गरिएको अम्बाईले बताए । भान्सामा प्लास्टिकको प्रयोग घटाउन विद्युतीय प्रेसर कुकर, इन्डक्सन चुल्होलगायत सामग्री सहुलियत दरमा उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालनमा रहेको उनले जानकारी दिए । संस्थाले वन डढेलो नियन्त्रणको लागि लोककल्याणकारी सूचना जारी गरी वातावरण संरक्षणमा पनि योगदान दिएको छ ।

कृषि र नवीकरणीय ऊर्जामा सहकारीको जोड

काभ्रेपलाञ्चोकस्थित बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था का प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले सहकारीहरूले दिगो विकास र वातावरण संरक्षणका लागि व्यवहारिक कदम चालिरहेको बताए । “सहकारीहरूले कृषि, नवीकरणीय ऊर्जा र वातावरणमैत्री व्यवसायमा लगानी बढाउन ‘ग्रिन लोन’ को अवधारणा ल्याएका छन् । बेमौसमी तरकारी खेती, व्यावसायिक कृषि, आधुनिक तथा जैविक खेतीका लागि सदस्यलाई प्रोत्साहन गरिँदै आएको छ,” उनले भने ।

स्याङ्तानका अनुसार संस्थाले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नवीकरणीय तथा वैकल्पिक ऊर्जाको प्रयोग बढाउन प्रोत्साहन गर्दै आएको छ । विद्युतीय सवारी खरिदका लागि ६ देखि ८ प्रतिशत सहुलियत ब्याजदरमा ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को हालसम्म संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको स्याङ्तानले जानकारी दिए । उनका अनुसार ३ अर्ब ४४ करोड ६० लाख ५२ हजार रुपैयाँ कुल कर्जा लगानी भएकोमा १ अर्ब १४ करोड ७२ लाख ७८ हजार रुपैयाँ कृषि क्षेत्रमा लगानी गरिएको छ ।

सहकारी अभियानलाई हरित वित्ततर्फ केन्द्रित गर्न आग्रह

राष्ट्रिय सहकारी महासंघ नेपाल का कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्र आर्थिक उपार्जनसँगै सामाजिक एकता, सांस्कृतिक संरक्षण र वातावरण संरक्षणको माध्यम भएकाले सहकारी संस्थाहरुलाई पर्यावरण संरक्षण र हरित वित्तीय क्षेत्रमा केन्द्रित हुन आग्रह गरिएको जानकारी दिए ।

“हरित अर्थतन्त्र प्रवद्र्धनका लागि सहकारी संस्थाहरूले धेरै काम गरिरहेका छन्। धेरै सहकारीले वृक्षारोपण, संरक्षणका लागि तारजाली व्यवस्थापन र राजमार्ग क्षेत्रमा समेत वृक्षारोपण गरेका छन्,” पोखरेलले भने । उनका अनुसार हरित ऊर्जाको प्रवद्र्धनमा समेत सहकारी क्षेत्रले योगदान दिन थालेको छ। सहकारी बैंकदेखि प्रारम्भिक सहकारी संस्थासम्मले वातावरण संरक्षणसम्बन्धी क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन् ।

तथ्यांक र अनुगमन चुनौती

सहकारी विभागकी उपरजिष्ट्रार सुचित्रा राईले नेपाल राष्ट्र बैंकको ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ अनुसार सहकारी क्षेत्रले काम सुरु गरे पनि यसको प्रभावकारी अनुगमन र तथ्यांक संकलनको व्यवस्था विकास हुन नसकेको बताइन् ।

“सहकारी क्षेत्रले हरित वित्तका क्षेत्रमा काम थालेको छ, तर यसको अनुगमन र तथ्यांक यकिन गर्ने प्रणाली अझै विकास हुन सकेको छैन,” उनले भनिन् ।

हरित अर्थतन्त्रतर्फ सहकारी क्षेत्रको बढ्दो सहभागिताले वित्तीय पहुँच विस्तारसँगै वातावरण संरक्षण र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् ।





प्रतिक्रिया दिनुहोस