काठमाण्डाै / जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा प्रतिरोधात्मक क्षमता विकास गर्दै दिगो अर्थतन्त्र निर्माणका लागि वित्तीय लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘हरित वित्त’ अभियानमा सहकारी संघसंस्थाहरु पनि जोडिन थालेका छन् ।
नेपाल राष्ट्र बैंकले २ वर्षअघि नै ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ लागू गरी बैंकहरुले शून्य कार्बन उत्सर्जन गर्ने उद्योग व्यवसायलाई ग्रिन, न्यून कार्बन उत्सर्जन गर्ने उद्योगलाई एम्बर र बढी कार्बन उत्सर्जन गर्ने उद्योग व्यवसायलाई रेडमा वर्गीकरण गरेर लगानीको प्राथमिकताहरू बनाउनुपर्ने ब्यवस्था गरेको छ । छुट्टै कार्यविधि वा निर्देशन जारी नभएपनि यही अवधारणाअनुसार सहकारी संस्थाहरूले पनि वातावरणमैत्री लगानी र हरित वित्तीय अभ्यासलाई प्राथमिकता दिन थालेका छन्।
नेपाल राष्ट्र बैंकको ग्रिन फाइनान्स ट्याक्सोनोमीले दिगो आर्थिक विकास सुनिश्चित गर्ने, जलवायु परिवर्तनका असर कम गर्ने र वातावरण संरक्षणमा योगदान पु¥याउने क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन गरेको छ। सो व्यवस्थाअनुसार वित्तीय संस्थाले लगानी गर्दा गतिविधिलाई तीन वर्गमा विभाजन गर्नुपर्ने व्यवस्था छ ।
जसअनुसार कम वा शून्य कार्बन उत्सर्जन गर्ने उद्योग तथा व्यवसायलाई ‘ग्रिन’, न्यून कार्बन उत्सर्जन गर्ने गतिविधिलाई ‘एम्बर’ र उच्च कार्बन उत्सर्जन गर्ने गतिविधिलाई ‘रेड’ वर्गमा राखिएको छ । ग्रिन क्षेत्रमा लगानी बढाउने, एम्बर क्षेत्रमा लगानी गर्दा सचेत हुने र रेड वर्गका गतिविधिमा लगानी निरुत्साहित गर्ने नीति लिइएको छ।
सहकारीमा ग्रिन सेभिङदेखि ग्रिन लोनसम्म
हरित अर्थतन्त्र प्रवद्र्धनका लागि सहकारी क्षेत्रले आफ्ना वित्तीय उत्पादन र कार्यक्रमलाई समेत परिवर्तन गर्न थालेका छन् । समुदायस्तरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूले आन्तरिक ऋण तथा बचत नीतिमा वातावरणमैत्री लगानीलाई समेट्न थालेका छन् ।
नवलपरासीको गैँडाकोटस्थित विकु बचत तथा ऋण सहकारी संस्था ले हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रिन सेभिङ’ र ‘ग्रिन लोन’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सहकारीको व्यवसाय प्रवद्र्धन शाखा प्रमुख हरिराम अम्बाईका अनुसार संस्थाले सदस्यलाई वातावरण संरक्षणसँग जोड्ने गरी बचत र कर्जा योजना सञ्चालन गरेको छ । “ग्रिन सेभिङ अन्तर्गत प्रत्येक सदस्यलाई कागतीको बिरुवा उपलब्ध गराउँछौं । फल लाग्न थालेपछि बचत फिर्ता लिन सकिन्छ र ४ दशमलव २५ प्रतिशत ब्याज पनि प्रदान गर्छौं,” उनले भने ।
‘एक सदस्य एक विरुवा’ अभियान सञ्चालन गरेको सहकारीले प्रत्येक सदस्यलाई कागतीको विरुवा उपलव्ध गराउँछ । खाली सार्वजनिक जग्गामा बृक्षारोपण, प्लाष्टिक नियन्त्रणको लागि डस्टविन वितरण लगायतका काम गर्दै आएको छ ।
अम्बाईअनुसार बहुवर्षीय खेती प्रवद्र्धनका लागि ‘ग्रिन लोन’ अन्तर्गत कागती, सुन्तला, आँप, लिचीलगायत खेतीका लागि ५ दशमलव ९९ प्रतिशत ब्याजदरमा ४० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइएको छ । हालसम्म करिब १५० जना सदस्यले यस्तो कर्जा लिएका छन्।

सहकारीले वातावरण संरक्षणसँगै प्रविधिमैत्री वित्तीय सेवा विस्तारलाई पनि प्राथमिकता दिएको छ। कागजरहित बैंकिङलाई प्रोत्साहन गर्दै पासबुक र चेकको प्रयोग घटाएर एसएमएस बैंकिङलगायत डिजिटल माध्यम प्रयोग गर्न सदस्यलाई प्रेरित गरिएको छ।
यस्तै विद्युतीय सवारी खरिदका लागि समेत ४० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने गरिएको अम्बाईले बताए । भान्सामा प्लास्टिकको प्रयोग घटाउन विद्युतीय प्रेसर कुकर, इन्डक्सन चुल्होलगायत सामग्री सहुलियत दरमा उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालनमा रहेको उनले जानकारी दिए । संस्थाले वन डढेलो नियन्त्रणको लागि लोककल्याणकारी सूचना जारी गरी वातावरण संरक्षणमा पनि योगदान दिएको छ ।
कृषि र नवीकरणीय ऊर्जामा सहकारीको जोड
काभ्रेपलाञ्चोकस्थित बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था का प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले सहकारीहरूले दिगो विकास र वातावरण संरक्षणका लागि व्यवहारिक कदम चालिरहेको बताए । “सहकारीहरूले कृषि, नवीकरणीय ऊर्जा र वातावरणमैत्री व्यवसायमा लगानी बढाउन ‘ग्रिन लोन’ को अवधारणा ल्याएका छन् । बेमौसमी तरकारी खेती, व्यावसायिक कृषि, आधुनिक तथा जैविक खेतीका लागि सदस्यलाई प्रोत्साहन गरिँदै आएको छ,” उनले भने ।
स्याङ्तानका अनुसार संस्थाले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नवीकरणीय तथा वैकल्पिक ऊर्जाको प्रयोग बढाउन प्रोत्साहन गर्दै आएको छ । विद्युतीय सवारी खरिदका लागि ६ देखि ८ प्रतिशत सहुलियत ब्याजदरमा ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को हालसम्म संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको स्याङ्तानले जानकारी दिए । उनका अनुसार ३ अर्ब ४४ करोड ६० लाख ५२ हजार रुपैयाँ कुल कर्जा लगानी भएकोमा १ अर्ब १४ करोड ७२ लाख ७८ हजार रुपैयाँ कृषि क्षेत्रमा लगानी गरिएको छ ।

सहकारी अभियानलाई हरित वित्ततर्फ केन्द्रित गर्न आग्रह
राष्ट्रिय सहकारी महासंघ नेपाल का कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्र आर्थिक उपार्जनसँगै सामाजिक एकता, सांस्कृतिक संरक्षण र वातावरण संरक्षणको माध्यम भएकाले सहकारी संस्थाहरुलाई पर्यावरण संरक्षण र हरित वित्तीय क्षेत्रमा केन्द्रित हुन आग्रह गरिएको जानकारी दिए ।
“हरित अर्थतन्त्र प्रवद्र्धनका लागि सहकारी संस्थाहरूले धेरै काम गरिरहेका छन्। धेरै सहकारीले वृक्षारोपण, संरक्षणका लागि तारजाली व्यवस्थापन र राजमार्ग क्षेत्रमा समेत वृक्षारोपण गरेका छन्,” पोखरेलले भने । उनका अनुसार हरित ऊर्जाको प्रवद्र्धनमा समेत सहकारी क्षेत्रले योगदान दिन थालेको छ। सहकारी बैंकदेखि प्रारम्भिक सहकारी संस्थासम्मले वातावरण संरक्षणसम्बन्धी क्षेत्रमा लगानी विस्तार गर्न थालेका छन् ।
तथ्यांक र अनुगमन चुनौती
सहकारी विभागकी उपरजिष्ट्रार सुचित्रा राईले नेपाल राष्ट्र बैंकको ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ अनुसार सहकारी क्षेत्रले काम सुरु गरे पनि यसको प्रभावकारी अनुगमन र तथ्यांक संकलनको व्यवस्था विकास हुन नसकेको बताइन् ।
“सहकारी क्षेत्रले हरित वित्तका क्षेत्रमा काम थालेको छ, तर यसको अनुगमन र तथ्यांक यकिन गर्ने प्रणाली अझै विकास हुन सकेको छैन,” उनले भनिन् ।
हरित अर्थतन्त्रतर्फ सहकारी क्षेत्रको बढ्दो सहभागिताले वित्तीय पहुँच विस्तारसँगै वातावरण संरक्षण र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् ।




प्रतिक्रिया दिनुहोस