काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोहको दोस्रो चरणमा विभिन्न संकायका १ हजार ५ सय २७ जना विद्यार्थी दीक्षित भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा दीक्षितमध्ये २१ जना विद्यावारिधि (PhD/DM/MCh), ९३ जना एमफिल तथा अनुसन्धानमूलक स्नातकोत्तर, २७९ जना स्नातकोत्तर, २ जना पीजीडीई र १ हजार १ सय ३२ जना स्नातक तहका विद्यार्थी रहेका छन् ।
संकायगत रूपमा स्कुल अफ मेडिकल साइन्सेजबाट सबैभन्दा धेरै ५ सय ४ जना विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै स्कुल अफ इन्जिनियरिङबाट ३ सय ५५, स्कुल अफ साइन्सबाट २ सय ७, स्कुल अफ आर्ट्सबाट १ सय ६१, स्कुल अफ म्यानेजमेन्टबाट १ सय ४६, स्कुल अफ एजुकेसनबाट १ सय १२ तथा स्कुल अफ लबाट ४२ जना विद्यार्थीले उपाधि प्राप्त गरेका छन् ।
यसपटक ८ सय पुरुष र ७ सय २७ महिला विद्यार्थी दीक्षित भएका छन् । साथै अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, बेलायत र अमेरिकाका १ सय ७९ जना विदेशी विद्यार्थीले पनि उपाधि प्राप्त गरेका छन्, जुन कुल दीक्षितको ११.७२ प्रतिशत हो ।
विश्वविद्यालयले पहिलो पटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स, डाक्टर मेडिसिने इन नियोनाटोलोजी तथा मास्टर अफ साइन्स इन मेडिकल बायोकेमिस्ट्री एन्ड मोलेकुलर बायोलोजी कार्यक्रमका विद्यार्थीलाई समेत उपाधि प्रदान गरेको छ।

यस चरणको दीक्षान्त सम्पन्न भएसँगै काठमाडौं विश्वविद्यालयबाट हालसम्म स्नातक हुनेको संख्या ५१ हजार ५ सय ६७ पुगेको छ । तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन् ।
समारोहका प्रमुख अतिथि प्रो. डा. भुषण पटवर्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले “ज्ञान बाँड्दा घट्दैन, बढ्छ” भन्दै प्राप्त शिक्षालाई समाजको हितमा प्रयोग गर्न आग्रह गरे । साथै बुद्धको “अत्त दीपो भव” को सन्देशलाई आत्मसात् गर्दै आत्मविश्वास, नैतिकता र जिम्मेवारीका साथ चुनौतीलाई अवसरमा बदल्न दीक्षित विद्यार्थीहरूलाई प्रेरित गरे ।
सहकुलपति सस्मित पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे ।
कायममुकायम उपकुलपति प्रा. डा. ऋषीकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र अटोमेसनको तीव्र विकाससँगै प्राविधिक दक्षतामात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलाई विस्तार गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर काम गरिरहेको बताए ।




प्रतिक्रिया दिनुहोस