जीवन रक्षाका लागि ‘फष्ट रेस्पोण्डर’ लाई तालिम

नौलो समाचार संवाददाता
२०८३ अषाढ २५, बिहिबार मा प्रकाशित ४० पटक पढिएको

जीवन रक्षाका लागि ‘फष्ट रेस्पोण्डर’ लाई तालिम

धुलिखेल / दुर्घटना वा आकस्मिक स्वास्थ्य अवस्थामा सबैभन्दा पहिलो सहयोग गर्ने (फष्ट रेस्पोन्डर) स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई जीवन रक्षा सम्बन्धी पुनर्ताजगी तालिम दिइएको छ ।

धुलिखेल अस्पताल र युनिभर्सिटी अफ भर्जिनियाको स्कूल अफ मेडिसिनबीचको साझेदारीमा उनीहरुलाई जीवन रक्षाका आधारभूत सीपसहितको ३ दिने तालिम सञ्चालन गरिएको हो । काभ्रेपलाञ्चोक जिल्लाभरिका ३९ जना एम्बुलेन्स चालक, धुलिखेल अस्पतालमा कार्यरत प्यारामेडिक्स र धुलिखेल अस्पतालका आकस्मिक चिकित्सा कर्मचारी सहभागी छन् । सन् २०२५ मा उनीहरुलाई सोही तालिम दिइएको थियो ।

एम्बुलेन्स चालक, प्यारामेडिक्स र अन्य स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी बिरामी अस्पताल पुग्नु अघि नै उनीहरूलाई समय–संवेदनशील र महत्वपूर्ण उपचार सेवा प्रदान गर्न उनीहरुको क्षमता सुदृढ गर्ने उद्देश्यसहित तालिम गरिएको अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत डा. सम्झना बस्नेतले जानकारी दिइन् । उनका अनुसार, श्वासप्रश्वास मार्गको आकस्मिक अवस्था, सीपीआर र ब्याग–भाल्भ मास्कको प्रयोग आवश्यक पर्ने अवस्थाहरू पहिचान गर्ने, मेरुदण्डमा चोट लागेको आशंका भएका बिरामीहरूलाई सुरक्षित रूपमा ओसारपसार गर्ने, हड्डी टुटफुट व्यवस्थापन र घाउ व्यवस्थापनसहित रक्तस्राव नियन्त्रण गर्ने सिप सिकाइएको छ । उपकरणहरूको उचित प्रयोगका साथै सीमित स्रोतसाधन भएका ठाउँहरूमा कसरी तत्काल उपलब्ध विकल्पहरू प्रयोग गर्ने बारेमा पनि जानकारी दिइयो ।
सहभागीहरुले कृत्रिम दुर्घटना अभ्यास पनि गरेका थिए । कार्यशालामा एम्बुलेन्स चालकहरूले समयमै उपचार पु¥याउने दबाब र बिरामी तथा उनीहरूका परिवारको इच्छाको सम्मान गर्ने कुराबीच सन्तुलन मिलाउनुपर्ने चर्चा गरियो ।

तालिमको समापनमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले बिरामीलाई अस्पताल ल्याउने भन्ने भन्दा पनि सुरक्षित ल्याउने कुरा महत्वपूर्ण हुने बताए । दुर्घटना, विपद लगायतका अवस्थामा आएको सूचना सरोकारवालाहरुको विचमा पुग्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रेम लामा, काभ्रेपलाञ्चोकका सभापति देवेन्द्रप्रसाद भैल, सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभडेल, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरिक्षक (डिएसपी) रविन विष्ट लगायतले नेपालमा अस्पताल–पूर्वको हेरचाहलाई व्यवस्थित गर्नको लागि पूर्वाधार र जनशक्ति तयार गर्नुपर्ने तर्क गरेका थिए ।

 






प्रतिक्रिया दिनुहोस