आर्थिक बर्ष २०८२/८३ को लागि काभ्रेपलाञ्चोक ‘पूर्णखोप सुनिश्चित जिल्ला’

नौलो समाचार संवाददाता
२०८३ अषाढ २९, सोमबार मा प्रकाशित ७७ पटक पढिएको

आर्थिक बर्ष २०८२/८३ को लागि काभ्रेपलाञ्चोक ‘पूर्णखोप सुनिश्चित जिल्ला’

धुलिखेल / आर्थिक बर्ष २०८२/८३ को लागि काभ्रेपलाञ्चोक ‘पूर्णखोप सुनिश्चित जिल्ला’ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकले सोमबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम र सदस्य सचिव रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

१६ देखि २३ महिना सम्मका ३ हजार १ सय ५५ जना बालबालिकाले १५ महिनाको अवधिमा पूर्णखोप पाएको सुनिश्चित भएपश्चात बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले पूर्णखोप सुनिश्चितता घोषणा गर्न अनुमति प्रदान गरेको थियो ।

यसअघि जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।सबैभन्दा पहिले नमोबुद्ध नगरपालिकाले २०८२ साल चैत २५ गते र सबैभन्दा अन्तिममा बनेपा नगरपालिकाले २०८३ साल असार ८ गते आफ्नो पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेका थिए ।

मण्डनदेउपुर नगरपालिकाले चैत २९ गते,  भुम्लु गाउँपालिकाले २०८३ वैशाख १४ गते, पाँचखाल नगरपालिकाले वैशाख १७ गते, तेमाल गाउँपालिकाले वैशाख २३ गते, रोशी गाउँपालिकाले वैशाख ३१ गते पूर्ण खोप सुनिश्चित  पालिका घोषणा गरेका थिए । पनौती नगरपालिका र चौरीदेउराली गाउँपालिकाले जेठ ६ गते, महाभारत गाउँपालिकाले जेठ १३ गते, खानीखोला गाउँपालिकाले जेठ १४ गते, बेथानचोक गाउँपालिकाले जेठ २२ गते, धुलिखेल नगरपालिकाले असार २ गते र बनेपा नगरपालिकाले असार ८ गते पूर्णखोप सुनिश्चितता घोषणा गरेका थिए।






प्रतिक्रिया दिनुहोस