रोशी / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले बुबाआमा र अभिभावकहरूको उचित हेरचाह, स्याहारसुसार र सम्मानपूर्वक पालनपोषण गर्ने छोरा, छोरी तथा बुहारीलाई ‘श्रवण कुमार पुरस्कार’ प्रदान गरेको छ ।
गाउँपालिकाका १२ वटै वडाबाट छनोट भएका उत्कृष्ट २४ जना लाई जनही पाँच हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान प्रदान गरिएको हो। व्यस्त र आधुनिक जीवनशैलीका कारण कतिपय परिवारमा जन्मदिने आमाबुबा हजुरबुवा, हजुरआमा र ज्येष्ठ नागरिकहरू उपेक्षित भइरहेको अवस्थामा रोशी गाउँपालिकाले समाजमा सकारात्मक र नैतिक सन्देश प्रवाह गर्न यो पुरस्कारको स्थापना गरेको हो। २०७६ सालदेखि उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।
गाउँपालिकाका अनुसार प्रत्येक वडाबाट ज्येष्ठ नागरिकको उत्कृष्ट पालनपोषण गर्ने दुई-दुई जना सन्तान वा परिवारका सदस्यहरूलाई उनीहरूको कर्तव्य परायणताको कदर गर्दै सम्मानित गरिएको हो।
यस वर्ष वडा नं १ बाट लक्ष्मी मायाँ तामाङ र दिक्षा सिलवाल, वडा नं. २ बाट अमृत लामा र हरी बहादुर थापा, वडा नं. ३ बाट यशोदा थापा क्षेत्री र सिता कुमारी आले थापा मगर, वडा नं. ४ बाट तिर्थ कुमारी जिमी र काहिला लामा, वडा नं. ५ बाट पवा सिद्धि लामा र फूलमायाँ तामाङ र वडा नं. ६ बाट अरुणा मैनाली र माइली मायाँ तामाङ सम्मानित भएका छन् । त्यस्तै वडा नं. ७ बाट नवराज दुलाल र राम प्यारी श्रेष्ठ, वडा नं. ८ बाट खड्ग बहादुर शाही र जमुना तामाङ, वडा नं. ९ बाट गोमा लुंगेली मगर र अर्जुन शाही, वडा नं. १० बाट चेत बहादुर लामा र छेगुदोर्जे तामाङ, वडा नं. ११ बाट सुर्य बहादुर तामाङ र मिन बहादुर सिदाली मगर र वडा नं. १२ बाट सेतु मायाँ वाइवा र राजकुमार मगर सम्मानित भएका छन् ।





प्रतिक्रिया दिनुहोस