लिपुलेक अतिक्रमणको विरोध प्रदर्शनका क्रममा कृष्ण पहाडीसहित २२ अधिकारकर्मी गिरफ्तार

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३०, मंगलबार मा प्रकाशित ३४७ पटक पढिएको
लिपुलेक अतिक्रमणको विरोध प्रदर्शनका क्रममा कृष्ण पहाडीसहित २२ अधिकारकर्मी गिरफ्तार

बैशाख ३०, काठमाडौँ । भारतले लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूमि अक्रिमण गरी बाटो बनाएको विरोधमा मानवअधिकारवादीहरुले प्रदर्शन गरेका छन् ।

लैनचौर स्थित भारतीय दूतावास अगाडि मानवअधिकारवादीहरुले अाज (मंगलबार) दिउँसो प्रदर्शन गरेका हुन् । मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनीसहितको समूहले ‘भारतः अतिक्रमण अन्त्य गर’, ‘कालापानी हाम्रो हो’, ‘कालापानीबाट भारतीय सेना फिर्ता गर’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय हस्तक्षेप विरूद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले जानकारी दिए ।

पक्राउ पर्नेमा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, दाङ शाखा सभापति शरद रेग्मी, पूर्व सभापतिहरु मोहन धिताल, निर्मल नेपाली, उपसभापति तुलसीराम सुनुवार, सचिव निर्मला डाँगी, सहसचिव उषा गौतम, सदस्य भीमलाल मरासिनी लगायत पनि रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस