बनेपा — नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले ‘जरा अभियान’ समापन गरेको छ।
केन्द्रको परिपत्र अनुसार सञ्चालित अभियान अवधिभर काभ्रेपलाञ्चोकका दुवै प्रतिनिधि सभा क्षेत्रमा गरी कुल ११ हजार ९ सय ९८ जनाको क्रियाशील सदस्यता अद्यावधिक भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तानले जानकारी दिए । उनका अनुसार, प्रतिनिधि सभा क्षेत्र नं. १ मा ६ हजार ३ सय ८३ जना र प्रतिनिधि सभा क्षेत्र नं. २ मा ५ हजार ६ सय १५ जनाले सदस्यता अद्यावधिक गरेका छन् । यसबाहेक दुवै क्षेत्रबाट पठाइएका करिब १ हजार जनाको सदस्यता विवरण भने केन्द्रीय समितिबाट स्वीकृत (एप्रुभ) हुन बाँकी रहेको जनाइएको छ।
४४ औं वी.पी. स्मृति दिवसको सन्दर्भ समेत पारेर आयोजना गरेको समापन समारोहना विभिन्न तहका नेता, प्रतिनिधि तथा कार्यकर्ताहरूले पार्टी संगठनको अवस्थाका साथै वी.पी. कोइरालाको योगदान र वर्तमान राजनीतिक परिस्थितिबारे चर्चा गरे ।
केन्द्रीय प्रतिनिधि समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शिव सुनारले वी.पी. कोइरालाले देखेको सपनालाई समय र प्रविधिसापेक्ष बनाउँदै पूरा गर्नुपर्ने र उनको पदचिन्ह पछ्याउनुपर्ने बताए । ११ स्थानीय तहमा प्रत्यक्ष र २ स्थानीय तहका साथिहाहरु संग भेटेर त्यहाँको वस्तुस्थिति, संगठनको अवस्था र साथीहरूको गुनासो बुझेको भन्दै उनले पार्टीलाई प्रविधि अनुकूल बनाउन अध्यावधिक अभियान सञ्चालन गरिएको बताए ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै विधि र प्रक्रिया मिचेर सरकार अघि बढेको आरोप लगाए ।करका दर संशोधन प्रधानमन्त्रीको फेसबुक स्टाटसका आधारमा नहुने भन्दै उनले संविधान र विधिको पालना सबैले गर्नुपर्ने बताए । काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसको संगठन बलियो भएको दाबी गर्दै उनले पार्टी जुनसुकै अवस्थामा भएपनि काभ्रेली जनताको पक्षमा उभिने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताए ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका अग्रज नेता इन्द्रमणि अधिकारीले वी.पी. कोइरालालाई राजनीति, साहित्य, विज्ञान र जनजीविकाका मूर्धन्य व्यक्तित्वको रूपमा चित्रण गर्दै उनको पदचिन्ह पछ्याउनुपर्ने बताए । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका नेता अच्युतप्रसाद पौडेलले नेताले वी. पी. को मेलमिलाप नीतिको चर्चा गर्दै पार्टी भित्र एकता कायम गर्न सबै तयार रहनुपर्ने बताए।
प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामाले वी. पी. ले गाउँको विकास नभइकन देशको विकास हुँदैन भनेको स्मरण गर्दै जुनै प्रकारका राजनीतिक भेल बाढी आउँदा पनि कांग्रेसको संगठन नडगमगाएको तर्क गरे ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव माधव ढकाल, नेपाल महिला संघका केन्द्रीय प्रतिनिधि बिनिता अधिकारी, नेपाल दलित संघका केन्द्रीय प्रतिनिधि जीवन मंग्राती, नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकका सभापति अञ्जनराज खतिवडा लगायतका वक्ताले जिल्लाभर कांग्रेस कार्यकर्तामा उत्साह भएको भन्दै पार्टीलाई बलियो बनाउन नेताहरू सच्चिनुपर्ने बताए । जरा अभियानले पार्टीलाई तल्लो तहसम्म पुनःजागृत गराएको उनीहरूको तर्क छ ।





प्रतिक्रिया दिनुहोस