पनौती / नगरवासीलाई आँखा उपचार सेवा निःशुल्क उपलब्ध गराउन पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पताल, बनेपाबीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौता अनुसार, पनौती नगरभित्रका मोतिविन्दु तथा आँखाको पर्दा सम्बन्धी रोगबाट पीडित बिरामीहरूले निःशुल्क उपचार पाउनेछन् । यसका साथै नागरिकहरूलाई घरदैलोमै सेवा पु¥याउने उद्देश्यले समुदाय तथा विद्यालय स्तरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिने र परीक्षणका क्रममा दृष्टि सम्बन्धी समस्या देखिएका नागरिकहरूलाई निःशुल्क चश्मा समेत वितरण गरिने नगर प्रमुख रामशण भण्डारीले जानकारी दिए ।
आधारभूत स्वास्थ्य शाखा प्रमुख जनक के.सी. का अनुसार, स्थानीय स्तरमै निरन्तर सेवा प्रवाहलाई सहज बनाउन पनौती नगरपालिका वडा नं. ७ स्थित पनौती स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार निःशुल्क आँखा उपचार क्लिनिक सञ्चालन हुनेछ ।
साझेदारीले विशेष गरी आर्थिक रूपमा विपन्न, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई समयमै आँखाको उपचार पाउन ठूलो राहत पुग्ने नगर प्रमुख भण्डारीले विश्वास व्यक्त गरे ।
धुलिखेल नगरपालिकाले पनि यसअघि आँखा उपचार निशुल्क उपलव्ध गराउन रेयुकाई एइको मासुनागा आँखा अस्पतालसंग सम्झौता गरिसकेको छ ।





प्रतिक्रिया दिनुहोस