भाद्र १ गतेदेखि धुलिखेल अस्पतालको ओपिडीमा स्वास्थ्य बीमा सेवा पुनः सुरु हुने

नौलो समाचार संवाददाता
२०८३ श्रावण २९, शुक्रबार मा प्रकाशित ९० पटक पढिएको

भाद्र १ गतेदेखि धुलिखेल अस्पतालको ओपिडीमा स्वास्थ्य बीमा सेवा पुनः सुरु हुने

धुलिखेल/ धुलिखेल अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको बहिरंग (ओपिडी) सेवा पुनः सुचारु गर्ने भएको छ । आकस्मिक सेवामा स्वास्थ्य विमा नियमित नै छ ।

बीमा बोर्डले सेवा शुल्कमा गरेको परिमार्जन, आर्थिक सहजता र भुक्तानीको प्रतिवद्धता आएपछि अस्पतालले बीमा सेवा पुनः सञ्चालन गर्न लागेको अस्पताल निर्देशक डा. बलराम मल्लले जानकारी दिए । उनका अनुसार, शनिवार, आइतबार र सार्वजनिक विदाका दिनमा बाहेक अन्य दिन विहान ७ बजेदेखि नै ओपिडीमा विमा लागू हुनेछ । केही प्रयोगशाला परिक्षण र औषधी पनि विमा अन्तर्गत नै उपलव्ध हुने उनले जानकारी दिए । बीमा सेवा लिन आउने बिरामीहरूले यसअघिको साबिकको प्रथम सेवा विन्दुबाट रिफरल पुर्जी अनिवार्य रूपमा ल्याउनुपर्ने अस्पतालले जनाएको छ ।

विमा सेवाको दर र भुक्तानी रोकिँदा अस्पतालको न्युनतम सञ्चालन खर्च समेत अभाव हुने स्थिती भएपछि जेठ १६ गतेदेखि अस्पतालले बीमा अन्तर्गतका सेवाहरू स्थगित गरेको थियो । ‘विगतमा ७० करोड भुक्तानी बाँकी हुँदा, सरकारी अस्पतालले सेवा हटाउँदा पनि स्वास्थ्य विमा लागू नै गरेका थियौं तर जनशक्ति भएपनि सामान नै रिक्तिएपछि सेवा बन्द गर्न बाध्य भएका थियौं ।’ डा. मल्लले भने ।


अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्यका अनुसार, स्वास्थ्य विमा थैलीमा ४० भन्दा बढी प्रयोगशाला परिक्षण र ३ सय भन्दा बढी प्रकारका औषधीको शुल्क परल मुल्य भन्दा कम तोकिएको छ । ‘हामीले घाटा भएपनि विरामीको अत्यावश्यक औषधी र सेवा रोक्नुहुँदैन भनेर विमा लागू गरिरहेका थियौं,’ डा. विराजले भने, ‘मुटुको शल्यक्रिया गर्दा राख्ने स्टेनदेखि शल्यक्रिया कक्षमा चाहिने पञ्जा (ग्लब्ज) र गज पिससम्मको अभाव भएपछि बाध्य भएर केही समयका लागि बीमा सेवा रोक्नुपरेको थियो ।’ उनले मुनाफा कमाउने उद्देश्य नभएकाले घाटा भएपनि अझै अत्यावश्यक सेवा उपलव्ध गराउने बताए ।

विमा बोर्डले धुलिखेल अस्पताललाई दिन बाँकी २८ करोड मध्ये ८ करोड हालै भुक्तानी दिएको छ ।






प्रतिक्रिया दिनुहोस