बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले नागरिक केन्द्रित अभियान सुरुवात गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार जिल्लाले अभियान थालेको हो । मंगलवार बनेपास्थित जिल्ला कार्यालयमा अभियान सुरुवातका साथै यसका विविध क्षेत्रबारे विचार-विमर्श गरियो ।
नेपाली कांग्रेसको ‘एनसी फर एनसी’ (NC for NC) अभियान अर्थात ‘नेपाली कांग्रेस फर नेसनल कज’ (Nepali Congress for National Cause) पार्टीलाई केवल राजनीतिक प्रतिस्पर्धा र सत्ताको खेलमा मात्र सीमित नराखी सामाजिक सेवा, सुशासन, नागरिक हित र सार्वजनिक सरोकारका विषयहरूसँग जोड्ने उद्देश्यले सुरु गरिएको कांग्रेसले जनाएको छ ।
अभियान अन्तर्गत नागरिक केन्द्रित अभियान सञ्चालन हुनेछ । जसअन्तर्गत पार्टी कार्यकर्ताहरूलाई प्रत्यक्ष रूपमा नागरिकका सुख-दुःख, सामुदायिक विकास र सामाजिक सेवामा जोडिनेछ । अभियान अन्तर्गत कांग्रेसका सदस्य तथा स्थानीय पार्टी कमिटीहरूले एक वर्षका लागि सामाजिक वा नागरिक हितको कुनै एक क्षेत्रमा काम गर्ने प्रतिज्ञा गर्नुपर्नेछ।

सामुदायिक सेवा अन्तर्गत रक्तदान, श्रमदान, वातावरणीय सरसफाइ तथा सामुदायिक पूर्वाधार सुधारका कामहरू गरिनेछ । विपन्न परिवारका बालबालिकालाई शिक्षामा सहयोग, वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेकालाई सहायता वा व्यक्ति-विशेषको जीवनस्तर सुधार्ने पहल गर्ने, जलवायु परिवर्तनबारे सचेतना, सडक दुर्घटना न्यूनीकरण, लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना, महिला हिंसा र छुवाछुतविरुद्धका अभियानहरू, स्थानीय तहमा सुशासन कायम गर्न पहल, नीतिगत सुधारका विषयमा अध्ययन र नागरिक सेवा सहजीकरण लगायतका काम गरिनेछ ।
अभियानले ‘नेपाली कांग्रेस नेपाली कांग्रेसका लागि मात्र नभई राष्ट्रिय हित र नागरिक कल्याणका लागि हो’ भन्ने सन्देश दिन खोजेको नेपाली कांग्रेसले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले राजनीतिक दलहरू जनताको साथमा हुनुपर्ने भन्दै त्यसैको लागि कांग्रेसले अभियान थालेको बताए । उनले नवीन परिस्थितिमा नवीन संकल्प सहित नवीन अभियान सञ्चालन गर्नुपर्ने भन्दै उनले नागरिकको सेवामा कांग्रेस सधैं अगाडि भएको बताए ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले प्रविधिमैत्री भएर कांग्रेस जनताको विचमा जाने बताए । उनले पार्टीमा एकता, निरन्तरता र क्रियाशीलताको खाँचो रहेको बताउँदै सबैलाई १५ औं महाधवेशनमा केन्द्रित हुन अनुरोध गरे ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तान, माधव ढकाल, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं १ (ख)का सभापति चन्द्रबहादुर लामा, प्रदेश सभा क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम तामाङ, महाधिवेशन प्रतिनिधि दुर्गामाया तामाङलगायतले अभियानले कांग्रेस र जनसमुदायविचको खाडल पुर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट अनिश पोखरेलले पार्टीले सञ्चालन गरेको स्थानीय तह युवा डिजिटल सीप विकास तथा रोजगारी सृजना कार्यक्रमबारे अभिमुखिकरण गर्दै युवाहरुलाई डिजिटल प्रविधिमार्फत कसरी आम्दानी, रोजगारी र पार्टीको पक्षमा जनमत सृजना गर्न सकिन्छ भन्ने जानकारी गराएका थिए ।





प्रतिक्रिया दिनुहोस