राजभाइ प्रधानको सहयोगले शीर मेमोरियल अस्पतालमा बन्यो ओपिडीको नयाँ भवन

नौलो समाचार संवाददाता
२०८३ भाद्र १०, बुधबार मा प्रकाशित २५२ पटक पढिएको

राजभाइ प्रधानको सहयोगले शीर मेमोरियल अस्पतालमा बन्यो  ओपिडीको नयाँ भवन

बनेपा /  शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालको बहिरंग विभागको नयाँ भवन तयार भएको छ ।

बनेपाका ८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा २८ हजार वर्गफिटमा बनेको ४ तले बहिरंग विभागको भवन २०८१ कार्तिक २१ गते निर्माण थालिएको थियो । अहिले बहिरंग र अन्तरंग सेवाको लागि कोठा अभाव हुँदा सेवा विस्तार हुन कठिनाई हुँदै आएको थियो । सुरुमा २ तलाको निर्माण थालिएको भएपनि प्रधानले अस्पतालको लागि अपर्याप्त हुने देखेपछि थप २ तला निर्माणको लागि सहयोग थप गरेका थिए ।

१० बर्षअघि भवन निर्माणको कुरा अघि बढाएका प्रधानले नक्सा निर्माण, नक्सा पास लगायतका कामले केही ढिला भएपनि आफू जन्मिएको स्थानमा केही गर्न पाएकोमा खुशी व्यक्त गर्दछन् । आफू कुनै उद्योगपति, धनाढ्य नभएपनि जन्मेपछि समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको बताए । दान भएकोले प्रधानले निर्माण लागत सार्वजनिक गर्न चाहेका छैनन्।

बनेपा स्थायी घर भएका प्रधान हाल ललितपुरको बागडोल बस्दै आएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

हस्तान्तरण कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, वरिष्ठ साहित्यकार मोहन दुवाल, मानवअधिकार अभियन्ता राजु सरकार, अस्पतालका तर्फबाट डा. ताराजङ्ग गुरुङलगायतले प्रधानको सहयोगी भावनाको प्रशंसा गर्र्दै बनेपा, काभ्रे र अन्य जिल्ला समेतका सेवाग्राही लाभान्वित हुने तर्क गरेका थिए ।






प्रतिक्रिया दिनुहोस