बनेपा / सहकारी र सञ्चार क्षेत्रविच समन्वय र सहकार्यका साथै सहकारी क्षेत्रका समसामयिक बिषयमा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले जिल्लाका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरेको छ । सहकारी क्षेत्रप्रतिको विश्वास कायम राख्ने साथै पछिल्ला सहकारी ऐनका व्यवस्था, परिमार्जनले सहकारी क्षेत्रमा पार्ने प्रभाव र जिल्ला सहकारी संघका कार्ययोजना र भूमिकाका बारेमा छलफल चलाइएको हो ।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी क्षेत्रमा आवश्यक सुधार र सुसाशनको लागि सञ्चार क्षेत्रले भूमिका खेल्न सक्ने बताउँदै काभ्रेली सञ्चार क्षेत्रसंग सहकार्य बढाएको बताए । अध्यक्ष श्रेष्ठले संस्थाका गतिविधिलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार क्षेत्र र सहकारीकर्मीबीच अनुभव आदानप्रदान, तालिम, असल शासनका अभ्यास विस्तार गर्ने र सञ्चार क्षेत्रले औल्याए अनुरुप सुधार गर्दै जाने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले सहकारी क्षेत्र सुधारको लागि काभ्रेली सञ्चारकर्मी सदैव खबरदारीमा रहेको बताउँदै जिल्ला सहकारी संघले शुरु गरेको सहकार्य निरन्तरताको कामना गरे ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू इश्वरीप्रसाद ओझा, महेशराज पौड्याल र मोतिराम तिमल्सिनाले सहकारी र सञ्चार क्षेत्रबीचको अन्तरक्रियाले समन्वय र सहकार्य बृद्धि हुने अपेक्षा गर्दै सञ्चार क्षेत्रले खबरदारीसंगै सहकारी क्षेत्रका सकारात्मक काम र अभ्यासहरूको पनि संगसगै प्रचार प्रसार गर्नुपर्ने बताए ।
जिल्ला सहकारी संघका उपाध्यक्ष शान्ति लामा वाइवाले ३ बर्षभित्र आर्थिक कारोबार गर्न बन्द गर्ने गरी आएको सहकारी ऐनको व्यवस्थाले जिल्ला सहकारी संघलाई समस्या परेको भन्दै अन्यौलताको स्थिती चिर्न सञ्चार क्षेत्रले पनि यसमा भूमिका खेल्नुपर्ने बताइन् । सचिव प्रकाश बञ्जाराले बचत तथा ऋणको कारोबार गर्न जिल्ला सहकारी संघलाई रोक लगाउने गरी कानून आएको भन्दै सहकारी क्षेत्रको सुशासन र पैरवीमा काम गर्ने बताए ।
संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले १३ वटै स्थानीय तहका ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध रहेको जानकारी दिँदै आर्थिक बर्ष २०८२/ ८३ को असार मसान्तसम्म १ अर्ब ४८ करोडको बासलात रहेको बताए ।
कार्यक्रममा कृयाशिल सञ्चारकर्मीका साथै जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुुन सापकोटा, सञ्चालक सदस्य रोशनकुमार श्रेष्ठ, पूर्णसागर रञ्जित, लेखा तथा सुपरिवेक्षण समिति सदस्य कान्छी मैया कार्की थापा, कर्मचारीहरु उपस्थित थिए ।





प्रतिक्रिया दिनुहोस