काभ्रे लेडी जेसीजको आतिथ्यतामा असोज २ र ३ गते नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन बनेपामा

नौलो समाचार संवाददाता
२०८३ भाद्र २८, आईतबार मा प्रकाशित ६३ पटक पढिएको

काभ्रे लेडी जेसीजको आतिथ्यतामा असोज २ र ३ गते नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन बनेपामा

बनेपा / काभ्रे लेडी जेसीजको आतिथ्यतामा आगामी असोज २ र ३ गते नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०२६’ बनेपामा हुने भएको छ । सम्मेलनको तयारी, उद्देश्य तथा आकर्षणका विषयमा आइतबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ ।

क्षेत्र ‘ग’ सम्मेलन–२०२६ की सम्मेलन निर्देशक सुमित्रा श्रेष्ठका अनुसार, सम्मेलनमा नेपालका चारवटै क्षेत्रका करिब ६ सय युवाहरू सहभागिता रहने अनुमान गरिएको छ । नेपाल जेसीजको क्षेत्र ‘ग’ अन्तर्गत बाग्मती प्रदेशको चितवन र मकवानपुरबाहेकका जिल्लामा रहेका ३९ वटा जेसीज शाखाहरु पर्दछन् । भोटेकोशी बाढीबाट मुलुक प्रभावित भएको विषम परिस्थितिमा हुन् लागेको सम्मेलनमा प्रोजेक्ट संकल्प २०२६ मार्फत प्राकृतिक विपद् व्यवस्थापन, पीडितहरूको पुनर्स्थापना तथा समुदायमा सकारात्मक परिवर्तनका लागि युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै ‘Aim Act Achieve’ को भावनालाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

सम्मेलनले यस क्षेत्रका युवाहरूको नेतृत्व विकास गरी गतिशील युवाहरूलाई आफ्नो समाज र देशका लागि गर्नुपर्ने काम, कर्तव्य र दायित्वबारे सजग गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको काभ्रे लेडी जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मनिका शाक्यले जानकारी दिइन् । यसका अलाबा बनेपा र काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको प्रवद्र्धन तथा व्यावसायिक विकास गर्ने मुख्य लक्ष्य राखिएको सम्मेलनका सचिव देवकी आचार्य दुलालले जानकारी दिइन्।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न सेमिनार, वक्तृत्वकला प्रतियोगिता, प्रकरण गोष्ठी, नेतृत्व तथा क्षमता विकास सम्बन्धी प्रशिक्षण (Motivation Training, Generative Al for Digital Marketing, Financial Literacy and Investment Training, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वलगायतका विषयमा) कार्यक्रमहरू सञ्चालन गरिनेछन् । संसदीय बैठक प्रणालीबाट सभा सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बनेपाको ऐतिहासिक लायकु दरबार क्षेत्रदेखि प्रसिद्ध चण्डेश्वरी मन्दिर प्राङ्गणसम्म विभिन्न परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित “शान्ति पदयात्रा” आयोजना गरिनेछ।

कार्यक्रममा सम्मेलनको पिन सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं काभ्रे जेसीजका पुर्व अध्यक्ष कञ्चनचन्द्र बादेले विषम परिस्थतिमा हुने कार्यक्रमले हौसला, आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्दै सफलताको कामना गरे ।

नेपाल जेसीज वर्ष २०२३ का अध्यक्ष विकास मानन्धरले काभ्रे लेडी जेसीजको मुख्य आतिथ्यता हुने कार्यकम काभ्रेपलाञ्चोक जिल्लाकै गौरवको विषय भएकोले सबैले अपनत्व लिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले सम्मेलन सफलताको कामना गर्दै अन्तराष्ट्रिय सञ्जाल भएको जेसीजको कार्यक्रमले बाढी पछि नेपाल सुरक्षित भन्ने सन्देश दिने बताए ।

सन् १९९४ मा स्थापित काभ्रे लेडी जेसीज १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक कार्यहरूमा एकल वा विभिन्न संघ–संस्थाहरूसँग मिलेर स्वयंसेवी रूपमा सक्रिय छ ।






प्रतिक्रिया दिनुहोस