धुलिखेल / नेपालमा बाथ रोग (रुमाटोलोजी) सम्बन्धी जनचेतना जगाउने र उपचार सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले धुलिखेल अस्पतालमा ‘रुमाटोलोजी सिम्पोजियम २०२६’ गरिएको छ ।
‘Bridging the Gap in Rheumatology Care : From Awareness to Action in Nepal’ भन्ने मुल विषयमा भएको सम्मेलनमा विभिन्न विज्ञहरुले पेश गरेका कार्यपत्र माथि छलफल गरिएको धुलिखेल अस्पतालको बाथरोग विभागका डा. विप्लप अधिकारीले जानकारी दिए । विशेषज्ञहरू बिचको गहन छलफल, सहभागीका जिज्ञासा समाधान सहितको सम्मेलन उपचार बारे जनचेतना र पहँुच बढाउन र विधागत सहकार्य बढाउन फलदायी भएको उनले विश्वास व्यक्त गरे ।

सम्मेलनमा नर्वेको एनटिएनयूकी रुमाटोलोजी विशेषज्ञ तथा प्रोफेसर डा. मियान्ने वालेनियसले ‘प्रेग्नेन्सी इन सिस्टेमिक लुपसः ब्रिजिंग रुमाटोलोजी एन्ड मटर्नल केयर’ (गर्भावस्था र लुपस रोग बिचको सम्बन्ध तथा रुमाटोलोजी र मातृत्व हेरचाह) विषयमा प्रस्तुती दिएकी छन् । अमेरिकाको इम्पावर्ड आथ्र्राइटिस एन्ड रुमाटोलोजी सेन्टरका बोर्ड–सर्टिफाइड रुमाटोलोजीस्ट डा. अनन्त सुवेदीले नेपालदेखि नर्थ क्यारोलिना सम्मको आफ्नो अनुभव र सिकाइबारे प्रेरणादायी प्रस्तुति दिए ।
धुलिखेल अस्पतालमा कार्यरत नेफ्रोलोजिस्ट डा. दीपक शर्माले मिर्गौला रोग विशेषज्ञको दृष्टिकोणबाट ‘सिस्टेमिक लुपस इरातिमटोसस्’को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । धुलिखेल अस्पतालका असिस्टेन्ट प्रोफेसर तथा पल्मोनोलोजिस्ट डा. निरिष वैद्यले फोक्सोको लक्षणबाट जोडिएका बाथ रोगको पहिचान सम्बन्धी विषयमा सहभागीलाई जानकारी गराए । नेपाल रुमाटोलोजी एसोसिएसनकाका उपाध्यक्ष डा. विनीत वैद्यले ‘गाउट’ (गठिया बाथ) व्यवस्थापनका ज्ञानमा रहेका कमीकमजोरी र अड्चनहरूका विषयमा प्रकाश पारे । एसोसिएसनका महासचिव डा. केशव राज सिग्देलले छातीका लक्षण मुख्य देखिने इन्फ्लेमेटरी मायोसिटिस रोगका असामान्य रूपहरू पहिचान गर्ने विषयमा प्रस्तुत गरेका थिए ।
धुलिखेल अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिस्ट एवं सोसाइटी अफ डर्माटोलोजीका अध्यक्ष डा. मनिषा सिंहले छालारोग विशेषज्ञको दृष्टिकोणबाट ‘मिमिक्स एन्ड मास्क्वेरेड्स अफ कनेक्टिभ टिस्यु डिजिज’ विषयमा प्रस्तुतीकरण गरिन् ।

क्लिनिकल रुमाटोलोजी फेलो डा. उज्जल रिसालले स्रोत–साधन सीमित भएका क्षेत्रहरूमा स्पोन्डिलो आथ्र्राइटिस रोगको निदान र उपचारका चुनौती तथा व्यवहारिक समाधानबारे चर्चा गरे । धुलिखेल अस्पतालका अर्थोपेडिक सर्जन डा. भास्कर कार्कीले बाथ रोगमा कुन अवस्थामा औषधिभन्दा बाहिर गएर बाथजन्य बाथ रोगमा अर्थोपेडिक सर्जरी आवश्यक पर्छ भन्ने विषय प्रष्ट पारेका थिए ।
कार्यक्रममा नर्वेको सेन्ट ओलाभ्स अस्पतालकी नर्स प्राक्टिसनर हेगे कोक्सभिकले नेपालमा रुमाटोलोजी उपचारमा नर्सहरूको भूमिका, बिरामीको हेरचाह, निगरानी र उनीहरूलाई सशक्त बनाउने उपायबारे आफ्नो अनुभव साटासाट गरिन् ।





प्रतिक्रिया दिनुहोस