बनेपा — अत्यावश्यक रगत तथा रक्त पदार्थको अभाव हुन नदिन नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले कार्तिक २१ गते शनिवार बृहत् रूपमा रक्तदान गर्ने भएको छ ।
स्वास्थ्य उपचारका लागि रगतको अभाव देखिएको गुनासो आउन थालेकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्न रक्तदान गर्न लागेको कार्यवहाक जिल्ला सभापति गुणराज मुक्तान जानकारी दिए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपा पार्टी भेन्युमा हुने रक्तदानमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि रक्तदान गर्नेछन् ।
साथै कार्यक्रममा ‘नेपाली कांग्रेसको बदलिएको दृष्टिकोण र कार्यशैली’का साथै पार्टीको सुदृढीकरण, बदलिँदो राजनीतिक परिस्थिति र परिमार्जित कार्यशैलीका विषयमा विशेष अनुशिक्षण प्रदान गरिनेछ।
कार्यक्रममा पार्टीका विभिन्न तह (क्षेत्र, पालिका र वडा तह)मा नवनिर्वाचितहरूलाई बधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रम समेत तय गरिएको जिल्ला सचिव माधव ढकालले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस