सरकारको कार्यशैलीको विरोध गर्दै युवाहरुद्वारा काठमाडौंमा प्रदर्शन, प्रदर्शनमा सहभागी ७ जना विदेशी पक्राउ

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३१, शनिबार मा प्रकाशित ४४० पटक पढिएको
सरकारको कार्यशैलीको विरोध गर्दै युवाहरुद्वारा काठमाडौंमा प्रदर्शन, प्रदर्शनमा सहभागी ७ जना विदेशी पक्राउ

जेठ ३१, काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणमा सरकार असक्षम भएको तथा भ्रष्टाचार भएको भन्दै पछिल्ला दिनमा सडक प्रदर्शन गरिरहेका युवाहरुको समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सामाजिक संजालबाट सडकमा ओर्लिएको यो समूहले विभिन्न प्लेकार्डहरु लिएर शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

आज नै संविधान सभाबाट नेपालको अतिक्रमित भूभाग समेटिएर जारी गरिएको नयाँ नक्सालाई निसान छापमा राख्ने गरी संविधान संशोधन गर्दैछ । यसैलाई मध्यनजरगरि आजको प्रदर्शन नगर्न साझा पार्टी लगायतले आन्दोलनकारीलाई आग्रह गरेका थिए ।

प्रदर्शनमा नाराबाजी गरिएको छैन । मंगलबार र बिहीबारजस्तो प्रहरीले पानीको फोहोरा र अश्रुग्यास पनि हानेको छैन । प्रदर्शन सुरु हुनेबेलैमा प्रहरीले आन्दोलनको आयोजकमध्येको एक समूह ‘इनफ इज इनफ’का इशानलाई भने पक्राउ गरेको छ । उनीसँगै माइतीघरमा रहेका अभियन्ता अभिषेक सिंहले प्रदर्शनस्थलबाटै इशानलाई पक्राउ गरिएको बताए ।

आज संसदबाट नयाँ नक्सालाई संविधान र निसान छापको अंग बनाउने प्रस्ताव पारित गर्ने भएकोमा हामीले समर्थन गरेका छौं । हाम्रो प्रदर्शनमा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेट्ने नयाँ नक्साको समर्थनका प्लेकार्ड छन् । यसमा सरकारको समर्थन गर्छौं तर कोरोना नियन्त्रणमा भएका असक्षमता र भ्रष्टाचारबारे प्रश्न उठाउन हामी छोड्दैनौं, सिंहले भने । उनले प्रदर्शन शान्तिपूर्णरुपमा भइरहेको पनि बताए ।

७ जना विदेशी पक्राउ

सरकार विरोधी प्रदर्शनमा सहभागी भएका ७ जना विदेशी पक्राउ परेका छन् । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी श्यामलाल ज्ञवालीले प्रदर्शनबाट सातजना विदेशी पक्राउ गरिएको बताए । उनका अनुसार तीनजना चिनियाँ तथा एक-एकजना अमेरिकी, क्यानेडियन, नर्वेजियन र अष्ट्रेलियन नागरिकलाई प्रदर्शनस्थलमा प्लेकार्ड बोकिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनले तीनजना नेपाली नागरिक पनि पक्राउ परेको बताए । उनीहरुलाई भृकुटीमण्डपस्थित नगरप्रहरीमा राखिएको छ ।

आन्दोलनमा सहभागी सिंह उनीहरुलाई सैनिक मुख्यालय भद्रकाली जाने बाटोबाट प्रहरीले पक्राउ गरेको आफूले थाहा पाएको बताउँछन् । केही विदेशीलाई पक्राउ गरिएको छ भन्ने मैले सुनें, ती हाम्रो आन्दोलनमा सहभागी हुन् भन्ने मलाई थाहा छैन, उनले भने ।

नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ। उनीहरुलाई नेपालको कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको जनाउदै अभद्र व्यवहार अन्र्तगको मुद्धा लगाइने प्रहरीले जनाएको छ । गृह मन्त्रालयले यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको एक अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस