‘हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब किन खर्च गरेको ?  

नौलो समाचार संवाददाता
२०७७ अषाढ ९, मंगलबार मा प्रकाशित ४९३ पटक पढिएको
‘हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब किन खर्च गरेको ?  

असार ९, काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीले बेला–बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाच्छियुँ गर्दा कोरोना निको हुने भए किन लकडाउन गरिएको हो भनेर प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्लाहकारहरुले भ्रममा पारेको समेत उनले आरोप लगाए ।

पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको सांसद पन्थले आरोप लगाए । उनले भने, ‘कसले झुटा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खबरहरु कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाच्छियुँ–साच्छियुँ गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’

स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ र प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उनले बताए । लामो समयदेखि आरडीटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उनले आरडीटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताए । अत्यावश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्डअनुसार व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमतिविपरीत विधेयकहरु ल्याउने गरेको भन्दै उनले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस