उपप्रधानमन्त्री महतोविरुद्ध सर्वोच्चमा रिट दायर, ५ वर्ष कैद र ५० हजार जरिवाना माग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २३, आईतबार मा प्रकाशित ९२९ पटक पढिएको
उपप्रधानमन्त्री महतोविरुद्ध सर्वोच्चमा रिट दायर, ५ वर्ष कैद र ५० हजार जरिवाना माग

जेठ २३, काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोविरुद्ध राज्यविरुद्धको कसुर गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । आज (आइतबार) अधिवक्ता तुलसीराम पराजुलीले उपप्रधानमन्त्री महतोविरुद्ध रिट दायर गर्नुभएको हो। यद्यपि रिट दर्ताकै क्रममा रहेको अधिवक्ता पराजुलीले जानकारी दिनुभयो। उहाँ ले उक्त रिटमा तत्काल मन्त्री पदबाट बर्खास्त गरी ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गर्दै रिट दायर गरेको बताउनुभयो।

उहाँले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महताले मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) बमोजिम राज्यविरुद्धको कसुर गरेको आधारमा विपक्षी राजेन्द्र महतोलाइ तत्काल मन्त्री पदबाट बर्खास्त गरी ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ सम्म जरिवाना सजाय माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको जानकारी दिनुभयो।

उपप्रधानमन्त्री महतोले शुक्रबार राति सपथ ग्रहण लगत्तै मन्त्रालयको कार्यभार सम्हाल्दै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्छ भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। महतोले सोही भनाई शनिबार दिउँसो पनि दोहो्याउनु भएको थियो। यद्यपि चर्को आलोचनापछि शनिबार मध्यराति नै उहाँले उक्त भनाई फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरिसक्नु भएको छ।


प्रतिक्रिया दिनुहोस